काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले व्यवसायिक सामाजिक उत्तरदायित्व (सीएसआर) को रकम दुर्गम ग्रामीण क्षेत्रमा सूचना प्रविधिको विस्तारको क्षेत्रमा लगाउन प्रस्ताव गरेका छन् । बुधबारदेखि राजधानीमा सुरु भएको क्यान इन्फोटेकको उद्घाटन समारोहमा बोल्दै अध्यक्ष गोल्छाले यस्तो प्रस्ताव राखेका हुन् ।
औद्योगिक व्यवसाय ऐन अनुसार मझौला तथा ठूला उद्योग व्यवसायले हरेक वर्ष आफ्नो वार्षिक नाफाको एक प्रतिशत रकम सीएसआरको रुपमा सामाजिक क्षेत्रमा खर्च गर्नुपर्ने व्यवस्था छ । त्यस्तो रकम दुर्गम ग्रामीण क्षेत्रमा सूचना प्रविधिको विस्तार र प्रयोगमा खर्च गर्न सकिने गोल्छाको भनाई थियो ।
त्यसका साथै उनले मुलुकमा स्टार्टअप नीतिको समेत आवश्यक रहेको बताए । ‘यसका लागि हामीले सरकारसँग सहकार्य समेत गरिरहेका छौँ,’ उनले भने, ‘साथै हामीले ई-कमर्स सम्बन्धी नीतिका लागि पनि सुझाव दिइसकेको अवस्था छ ।’
अनलाइन कारोबार सहज बनाइदिन आग्रह गर्दै अध्यक्ष गोल्छाले डिजिटल हस्ताक्षर अझै कार्यान्वयनमा नआएको भन्दै सरकारको ध्यानाकर्षण समेत गराए । ‘अनलाइन कारोबारमा संलग्न युवा पुस्तालाई सही सामान मात्र डेलिभरी गर्न आग्रह गर्न चाहन्छु,’ उनले अगाडि भने, ‘अन्यथा सकारले ल्याउने नीति कठोर हुनसक्छ ।
प्रविधिमार्फत व्यवसाय विस्तार गर्न महासङ्घ तयार रहेको छ र मेरो प्रयास पनि त्यसै दिशामा छ ।’