काठमाडौं । युरोपेली संघ (ईयू) का संसद सदस्यहरूले युरोपमा एप्पलले आफ्नो डिभाइसमा यूएसबी-सी पाेर्ट प्रयोगमा ल्याउनुपर्छ भन्ने प्रस्तावलाई भारी मतका साथ पारित गरेका छन् । ईयू संसदमा एप्पलका डिभाइसहरू आईफोन, आईप्याड र एयरपडका लागि यूएसबी-सी पोर्ट प्रयोग गर्न एप्पललाई निर्देशन दिने कुरामा प्रस्ताव राखिएको थियो ।
सोही प्रस्तावलाई ईयू सदस्यहरूले समर्थन गरेका हुन् । निर्देशनको रूपमा अगाडि सारिएको उक्त प्रस्तावले युरोपमा डिभाइसहरू बेच्ने सबै इलेक्ट्रोनिक्स कम्पनीहरूलाई नयाँ फोन, ट्याब्लेट, ल्यापटप, डिजिटल क्यामेरा, हेडफोन, हेडसेट, ह्यान्डहेल्ड भिडिओ गेम कन्सोलहरू र पोर्टेबल स्पिकरहरूमा यूएसबी-सी पोर्टको सुविधा दिन बाध्य पार्नेछ ।
यसमा कम्पनीहरूका लागि अन्य कुनै विकल्प छैन । यद्यपि स्मार्टवाच अथवा, फिटनेस ब्यान्ड, हेल्थ ट्रयाकर, स्पोर्टस डिभाइसहरूको लागि भने यो नियम अनिवार्य छैन ।
यो नियमले अन्य कम्पनीहरू भन्दा पनि एप्पललाई ठूलो प्रभाव पार्नेछ । किनभने अहिले अधिकांश कम्पनीहरूले डिभाइसहरूमा यूएसबी-सी पोर्ट नै प्रयोग गरेको छ ।
यद्यपि एप्पलले भने आफ्नो डिभाइसहरूमा लाइटनिङ कनेक्टर प्रयोग गरिरहेको छ । ईयूको यो प्रस्तावमा विधेयकको पक्षमा ४३ जनाले मत थियो भने दुई मत विपक्षमा थियो ।
ईयुको यो कदमले विद्युतीय फोहोर कम हुने, उत्पादनको दिगोपनलाई सम्बोधन गर्ने र विभिन्न उपकरणहरूको प्रयोगलाई अझ सुविधाजनक बनाउने विश्वास लिइएको छ ।
यसका साथै कम्पनीहरूले आफ्नो डिभाइससँग चार्जर उपलब्ध हुने वा नहुने कुरा पहिले नै उल्लेख गर्नुपर्ने अथवा डिभाइसको कभरमा लेबलिङ गरेर राख्नुपर्ने कुरामा ईयू सदस्यहरूको जोड थियो ।
यसले प्रयोगकर्ताले डिभाइस खरिद गर्ने निर्णयमा थप स्पष्ट हुने बताइएको छ । सन् २०२० देखि एप्पलले आईफोन १२ मा चार्जर उपलब्ध गराउन छोडेको थियो ।