close

अब क्यूआर कोडबाटै ट्राफिक जरिवाना  तिर्न सकिने

टेकपाना टेकपाना

बैशाख १६, २०७९ १२:८

अब क्यूआर कोडबाटै ट्राफिक जरिवाना  तिर्न सकिने

काठमाडौं: काठमाडौं उपत्यका प्रहरी कार्यालयले ‘क्यूआर कोड (स्क्यान) गरी ट्राफिक जरिवाना तिर्न सकिने व्यवस्था बिहीबार देखि लागू गरेको छ । यो सँगै अब ट्राफिक कारबाहीमा परेका सवारी चालकले काठमाडौं उपत्यका (काठमाडौं, ललितपुर र भक्तपुर) मा तत्काल क्युआर कोड मार्फत जरिवाना तिर्न सक्नेछन् ।

कुमारी बैंकको सहकार्यमा ट्राफिक प्रहरीले उपत्यका भित्र “क्यू आर स्क्यान, पे फाइन एण्ड विथड्र डकुमेन्ट (QR Scan, Pay Fine & Withdraw Document)” व्यवस्था लागू गरेको हो । नयाँ व्यवस्था लागू भएसँगै जरिवाना तिर्नेले आफ्नो डिजिटल वालेट वा मोबाइल बैंकिङ एप्लिकेसन मार्फत मनिटरको स्क्रिनमा देखिएको क्यूआर कोड स्क्यान गरी जरिवाना रकम भुक्तानी गरेर तुरुन्तै आफ्नो कागजपत्र लिन सक्नेछन् ।

त्यसका लागि ट्राफिक प्रहरीसँगै डिस्प्ले सहितको मनिटर हुनेछ । कारबाहीमा परेकालाई सोही मनिटरमा ट्राफिक भायोलेशन रेर्कड सिस्टम (TVRS) बाट जेनरेट भएको क्यूआर कोड डिस्प्ले गरिन्छ । सोही क्यूआर कोड डिजिटल वालेट वा मोबाइल बैंकिङ एप्लिकेसन मार्फत स्क्यान गरेर ट्राफिक जरिवाना रकम भुक्तानी गर्न सकिन्छ । भुक्तानी गरेसँगै तत्कालै आफ्नो कागजपत्र लिन सकिने जनाइएको छ ।

यो सेवा हाललाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा लागू गरिएको छ भने आगामी दिनमा मातहतका ट्राफिक कार्यालयमा पनि विस्तार गरिने ट्राफिक कार्यालयले जनाएको छ ।

यस अघि नै ट्राफिक नियम उलङ्घन गरे बापत तिर्नुपर्ने जरिवाना रकम अनलाइन मार्फत भुक्तानी गर्न सक्ने प्रणाली लागू गरेको थियो । सोही  प्रणालीलाई थप समायानुकुल र प्रभावकारी बनाउन परिष्कृत गरी क्यूआर स्क्यान सुविधा ल्याएको जनाइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२