close

अभिनेत्री लक्ष्मी बर्देवा भन्छिन्: बैंक अफ काठमाण्डूको मोबाइल बैंकिङदेखि हैरान भएँ

टेकपाना टेकपाना

बैशाख १६, २०७९ १९:४६

अभिनेत्री लक्ष्मी बर्देवा भन्छिन्: बैंक अफ काठमाण्डूको मोबाइल बैंकिङदेखि हैरान भएँ

काठमाडौं । मोबाइल बैंकिङ प्रयोग गर्दा दोहोरो पैसा काटिने समस्यालाई औँल्याउदै अभिनेत्री लक्ष्मी बर्देवाले आफ्नो फेसबुक मार्फत बैंक अफ काठमाण्डूको मोबाइल बैंकिङ प्रति असन्तुष्टि व्यक्त गरेकी छन् । पाँच दिन अगाडि अप्रिल २४ मा बर्देवाले बैंक अफ काडमाण्डूको मोबाइल बैंकिङ मार्फत नक्सालको भाटभाटेनीमा भुक्तानी गरेकी थिइन् । 

तर प्राविधिक समस्याका कारण उनले भुक्तानी गर्नुपर्ने रकम दुई पटक काटियो । यसपछि उनले भाटभटेनीमै समस्या राख्दा सुनुवाई नभएको र बैंकले पनि आइतबार मात्र खातामा पैसा फिर्ता आउने बताएको उनले आफ्नो फेसबुक पोस्टमा उल्लेख गरेकी छन् ।

यसअगाडि पनि यसैगरी दोहोरो रकम काटिने समस्या भोगेको कुरा पनि उनले खुलाएकी छन् । यो विषयमा टेकपानाले बैंक अफ काठमाण्डूका प्रतिनिधिसँग कुरा गर्न खोज्दा उनले तत्काल प्रतिकृया दिन चाहेनन् ।

यद्यपि यस्तो समस्या भोग्ने उनी एक्लो मात्र होइनन् । अनलाइन भुक्तानीको सम्बन्धमा यसरी दोहोरो रकम काटिएर आफ्नो पैसा फिर्ता पाउनको लागि दुख भोग्नु परेका धेरै घटनाहरू छन् । 

दोहोरो रकम काटिनुमा धेरै कारणहरू हुनसक्ने फोनपेका सीईओ दिवस सापकोटा बताउँछन् । ‘मोबाइल बैंकिङ अथवा डिजिटल वालेट मार्फत विशेषगरी क्यूआर कोड प्रयोग गरेर अनलाइन भुक्तानी गर्दा कहिले काहीँ विभिन्न कारणले समस्या आउन सक्छ । जस्तो कि नेटवर्कको समस्या, बैंकको सिस्टमको समस्या, अथवा भुक्तानी प्राप्त गर्ने बैंकको समस्या,’ उनी भन्छन् ।

‘कहिलेकाहीँ पसलहरूमा भुक्तानी गर्दा पाउनुपर्ने मान्छेले सिस्टमा चेक गर्ने भन्दा पनि मोबाइलमा भुक्तानीको एसएमएस पर्खिने गर्दछन् । मोबाइल नेटवर्कको समस्याले बेलैमा एसएमएस नआउँदा पैसा भुक्तानी नभएको ठानेर ग्राहकलाई पुनः भुक्तानी गर्न लगाउने अवस्था रहन्छ ।’

यी लगायत विभिन्न कारणले ग्राहकले दोहोरो भुक्तानी गर्नुपरेको उनी बताउँछन् । साथै पहिलो भुक्तानीमा ‘इरर’ अथवा ‘पेमेन्ट अनसक्सेफुल’ भनेर देखायो भनेर पनि दोस्रो पटक पेमेन्ट गर्दा दोहोरो रकम काटिने समस्या हुने उनले बताए। यस्तोमा केही समय पर्खेर पैसा गएको हो कि होइन भनी निश्चित हुनु पर्ने उनको सुझाव छ ।   

दोहोरो रकम काटिए के गर्ने ?

फोनपेका सीईओ सापकोटाका अनुसार दोहोरो रकम काटिएको खण्डमा दुई ओटा तरिकाबाट आफ्नो रकम फिर्ता पाउन सकिन्छ । पहिलो हो, आफ्नो खाता रहेको बैंक अथवा डिजिटल वालेट सेवा प्रदायकमा सम्पर्क गर्ने ।

‘यदि भुक्तानीको क्रममा दोहोरो रकम काटियो भने सेवाग्राहीले भुक्तानी गर्दा प्रयोग गरेको बैंकमा वा मोबाइल वालेटमा गएर आफ्नो समस्या दर्ता गराएर पैसा फिर्ता पाउन सक्नुहुन्छ,’ उनी भन्छन् । 

यसरी सम्बन्धित बैंक तथा डिजिटल वालेटलाई रिपोर्ट गरिसकेपछि उक्त बैंक तथा वालेटले सम्बन्धित व्यवसायी (जसले रकम प्राप्त गरेको हो) को खातामा दोहोरो रकम आएको हो वा होइन भन्ने कुरा यकिन गरी रकम फिर्ता गर्ने सापकोटा बताउँछन् ।

त्यसैगरी दोस्रो तरिका भनेको दोहोरो भुक्तानी भएको थाहा पाएपछि सम्बन्धित व्यवसायी, पसल, सुपर मार्केट अथवा सम्बन्धित भुक्तानी प्राप्त गरेको पक्षलाई नै भनेर दोहोरो रकम प्राप्त भएको खण्डमा आफ्नो रकम तत्काल फिर्ता गर्नको लागि अनुरोध गर्न समेत सकिने उनको भनाई छ । यद्यपि देशमा यो अभ्यास भने कमै प्रचलनमा छ ।

‘सबै व्यवसायीहरूले तत्काल भुक्तानी गर्न नसक्ने अवस्था पनि हुन्छ । विशेष गरी साना पसलहरूमा व्यवसायीहरूले प्रमाणीकरण गरी तत्काल भुक्तानी गर्न सक्दैनन् । यस्तो बेलामा फेरि पनि जानुपर्ने भनेको बैंक वा डिजिटल वालेटमा नै हो,’ उनी थप्छन् ।  

दोहोरो भुक्तानीमा रकम फिर्ताको के छ व्यवस्था ?

दोहोरो रकम तिर्नुपर्दा होस् वा कुनै गल्तिले गलत मान्छेलाई भुक्तानी भएको अवस्था नै किन नहोस्, ग्राहकले आफ्नो पैसा फिर्ता पाउनुपर्ने विषयमा नेपाल राष्ट्र बैंकले अहिलेसम्म कुनै स्पष्ट कानुनी प्रावधान बनाएको छैन । यता भुक्तानी सेवा प्रदायक कम्पनीहरू भने राष्ट्र बैंकले एटीएम कार्डको लागि बनाएको नियम अनुसार चल्ने गरेका छन् । 

‘विभिन्न प्राविधिक कारणले गर्दा ग्राहकको खाताबाट दोहोरो रकम काटिरहेको हुन्छ । यसको लागि सम्बन्धित बैंक अथवा भुक्तानी सेवा प्रदायकसँग नै सहयोग लिनुपर्ने हुन्छ । यद्यपि अनलाइन भुक्तानीमा रिफन्ड (पैसा फिर्ता) को विषयमा भने लिखित रुपमा नै कुनै कानुन बनिसकेको छैन,’ राष्ट्र बैंकका सूचना अधिकारी नारायण प्रसाद पोखरेल भन्छन् । 

फोनपेका सीईओ सापकोटाले भने यस विषयमा कुनै निश्चित कानून नबिसकेका कारण एटीएम कार्डमा लागू हुने नियम आफूहरूले अनुसरण गरिरहेको बताउँछन् ।

‘राष्ट्र बैंकका अनुसार कुनै कार्डबाट भुक्तानी हुँदा रिफन्ड गर्नुपर्ने रकम १४ दिनभित्र ग्राहकको खातामा फर्काइ सक्नुपर्ने हुन्छ,’ उनले भने, ‘अहिले अनलाइन भुक्तानीमा पनि यही अभ्यास चलिरहेको छ । यद्यपि अनलाइन भुक्तानीमा रिफन्ड गर्नुपर्ने रकम फिर्ता हुन १४ दिन भने लाग्दैन । यो धेरै लामो समय हो ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२