close

ट्वीटर सीईओबाट पराग अग्रवाललाई हटाउने मुडमा एलन मस्क

टेकपाना टेकपाना

बैशाख २०, २०७९ २१:३०

ट्वीटर सीईओबाट पराग अग्रवाललाई हटाउने मुडमा एलन मस्क

काठमाडौं । ट्वीटरलाई ४४ अर्ब डलरमा खरिद गर्ने सम्झौता भएलगत्तै ट्वीटरका सीईओ पराग अग्रवालको भविष्य के हुने हो भन्ने विषयमा निकै नै चर्चा चलिरहेको छ ।

यसैबीच एलन मस्कले सीईओ पदको लागि नयाँ सूची तयार गरिरहेको सूचना  बाहिरिएको छ । रोयटर्समा हालै प्रकाशित समाचार अनुसार मस्कले पुराना कर्मचारीहरूलाई हटाएर नयाँ राख्ने सोच्दैछन् ।

गत महिनामात्र मस्कले ट्वीटरका प्रमुख ब्रेट टाइलरसँग् कुरा गर्दै कम्पनीको अहिलेको व्यवस्थापन पक्षमा कुनै विश्वास नभएको कुरा व्यक्त गरेका थिए ।

अग्रवालले ट्वीटरको सीईओको रुपमा काम गर्न थालेको एक वर्ष पनि पुगेको छैन । उनले गएको नोभेम्बर महिनादेखि यो पद सम्हालेका हुन् ।

मस्कले सीईओ पदमा नयाँ व्यक्ति छनौट गरिरहेको कुरा रोयटर्समा लेखिए पनि ती व्यक्ति को हुनेछन् भन्ने विषयमा स्रोतले केही खुलाएकाे छैन ।

ट्वीटरमा आफ्नै भविष्य दोधारमा रहेको बेला अन्य कर्माचारीमा पनि उठेको यही प्रश्नलाई शान्त पार्ने बाध्यता अग्रवालमाथि छ । मस्कले बारम्बार ट्वीटरको कार्यशैलीको बारेमा आलोचना गर्न थालेपछि ट्वीटरका कर्मचारीहरूले आक्रोश पोखेका हुन् ।

अग्रवालको उपस्थितिमा राखिएकाे आन्तरिक बैठकमा कर्मचारीहरूले आफ्नो जागिरको सुरक्षाका लागि व्यवस्थापन पक्षले कस्तो कदम लिनेछ भन्ने विषयमा प्रश्न उठाएका थिए ।

यद्यपि केहीले भने मस्कले ट्वीटरको स्वामित्व आफ्नो हातमा नलिएसम्म कर्मचारीहरूलाई निकाल्ने वा थप्ने भन्ने विषयमा केही बोल्न नपाइने उल्लेख गरेका छन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२