काठमाडौं । स्मार्टफोन यति विकसित भइसकेका छन् कि, केही समयपछि कम्प्युटर (ल्यापटप/पीसी) लाई नै विस्थापित नगर्लान् भन्न सकिँदैन । पहिले कम्प्युटरबाट मात्र हुने कतिपय काम अहिले हातमा रहेकाे माेबाइलबाट सहजै गर्न सकिन्छ ।
उदाहरणका लागि विगतमा कम्प्युटर ईमेल पठाउन, भिडिओ हेर्न वा स्ट्रिमिङ गर्न र वेब ब्राउजिङका लागि प्रयोग गरिन्थ्याे । अहिले यी सबै काम स्मार्टफोनबाटै गर्न सकिन्छ ।
कतिपय अवस्थामा कम्प्युटरमा भएका फाइल/सामग्री स्मार्टफोनमा शेयर गर्नपर्ने हुन्छ भने केही अवस्थामा स्मार्टफोनबाट कम्प्युटरमा पठाउन पर्ने हुनसक्छ ।
आज हामी त्यस्ता उपायका बारेमा चर्चा गर्दैछौँ, जसमार्फत् कम्प्युटरबाट फोन वा फोनबाट कम्प्युटरमा फाइल पठाउन सकिन्छ
केबलको प्रयोग गरी फाइल शेयर गर्ने तरिका
यो सजिलो, भरपर्दो, उपयोगी र सबैभन्दा पुरानो विधिमध्येको एक हो । यसका लागि तपाईंले फोन र कम्प्युटरमा सपोर्ट गर्ने यूएसबी केबल प्रयोग गर्नुपर्ने हुन्छ ।
कम्प्युटरमा यूएसबी केबल जोडिसकेपछि तपाईंले सो केबलको अर्को भाग फोनमा जोड्नुपर्छ । यदि तपाईंको फोन लक गरिएको छ भने त्यसलाई अनलक गर्नुहाेस् ।
फोन अनलक गरिसकेपछि स्क्रिनमा तीनवटा अप्सन देखिन्छ । वा तपाईंले आफ्नो फोनको नोटिफिकेसन बारमा यूएसबीको अप्सन देख्न सक्नुहुन्छ । त्यसमा पनि ट्याप गर्दा तीनवटा अप्सन देखिन्छ ।
त्यसमध्ये फाइल ट्रान्सफरिङको अप्सन छान्नुपर्ने हुन्छ । फोनअनुसार शब्द भिन्नै भएपनि अर्थ फाइल शेयर गर्ने लाग्ने छान्नुपर्ने हुन्छ । त्यसपछि तपाईंले सहजै कम्प्युटरबाट स्मार्टफोन वा स्मार्टफोनबाट कम्प्युटरमा फाइल शेयर गर्न सक्नुहुन्छ ।
केबल प्रयोग नगरी फाइल शेयर गर्ने उपाय
सबै अवस्थामा फाइल शेयर गर्न केबल उपयुक्त विकल्प नहुनसक्छ । केबल बिग्रेको बेला वा कम्प्युटरमा यूएसबी सपोर्ट नगरेको अवस्थमा केबल बिना फाइल शेयर गर्नुपर्ने हुन्छ । त्यसका लागि गुगल ड्राइभको सहयोग लिन सक्नुहुन्छ । गुगल ड्राइभमा १५ जीबीसम्मको क्लाउड स्टोरेज हुनेगर्छ ।
तर, इन्टरनेट नहुँदा यो उपयुक्त हुँदैन । यसका लागि तपाईंले आफ्नो कम्प्युटरमा गुगल ड्राइभ डाउनलोड गर्नुहाेस् । कम्प्युटरमा गुगल ड्राइभ डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् । अथवा, यसको विकल्पमा ड्रपबक्स वा माइक्रोसफ्ट वनड्राइभ प्रयोग गर्न सक्नुहुन्छ ।
यी सबैले काम गर्ने तरिका एउटै भएकाले कुनै एक प्रयोग गर्न सक्नुहुन्छ । कम्प्युटरमा गुगल ड्राइभ सेटअप गरी सकेपछि तपाईंले साइनईन गर्नुपर्ने हुन्छ । त्यसपछि ब्याकअप अल फाइल टाइप्स सेलेक्ट गरेर नेक्स्टमा क्लिक गर्नुहाेस् । त्यसपछि अर्को स्क्रिन खुल्छ ।
त्यहाँ भएको एड्भान्स्ड सेटिङमा गएर ‘सिंक माई ड्राइभ टु दिस कम्प्युटर’ (Sync My Drive to this computer) लाई सेलेक्ट गरेर ‘ओके’ गर्नुभयो भने तपाईंको कम्प्युटरमा गुगल ड्राइभ भन्ने फोल्डर देखिन्छ । यसमा हुने सम्पूर्ण फाइलहरू ड्राइभ भएको अकाउन्टमा सेभ हुन्छ ।
त्यसपछि तपाईंले आफ्नो फोनमा गुगलड्राइभ खोल्नुभयो भने त्यहाँ ‘ईन कम्प्युटर’ भन्ने अप्सन देख्न सक्नुहुन्छ । जसमा क्लिक गरेपछि तपाईंले कम्प्युटरबाट अपलोड भएका फाइल देख्न सक्नुहुन्छ ।
त्यसबाट सजिलै फाइलहरू हेरेर डाउनलोड गर्न सक्नुहुन्छ । त्यस्तै फोनमा अपलोड गरेका फाइल कम्प्युटरमा डाउनलोड गर्न सक्नुहुन्छ । डाउनलोड हुने कुरा भने तपाईंको इन्टरनेटमा भर पर्छ ।
ईमेल प्रयोग गरी फाइल यसरी शेयर गर्नुहोस्
फाइलहरू ईमेलमार्फत कम्प्युटरबाट फोन अथवा फोनबाट कम्प्युटरमा ट्रान्सफर गर्ने सबैभन्दा सजिलो विधि हो ईंमेल । माथि उल्लेखित उपायले काम नगरेको खण्डमा तपाईंले ईमेल प्रयोग गर्न सक्नुहुन्छ ।
ईमेलमार्फत २५ एमबीभन्दा ठूला फाइल शेयर गर्न मिल्छ भने २ जीबीसम्मको फाइल शेयर गर्न विट्रान्सफर प्रयोग गर्न सक्नुहुन्छ । यसमा रजिस्टर नगरेरै पनि तपाईंले २ जीबीसम्मका फाइल शेयर गर्न सक्नुहुन्छ ।
फाइल शेयर गर्न ह्वाट्सएपको प्रयोग
एन्ड्रोइड फोनबाट फाइलहरू शेयर गर्ने अर्को भरपर्दो माध्यम हो, ह्वाट्सएप । यदि तपाईंको इन्टरनेटको गति फास्ट छ भने सबैभन्दा उपयुक्त विधि यो हुनसक्छ । त्यसका लागि सबैभन्दा पहिले ह्वाट्सएपमा एउटा ग्रुप बनाउनुहोस् ।
त्यसमा जोडिएका मानिसहरूलाई हटाएर तपाईं मात्र बाँकी भएको खण्डमा तपाईंले फाइल सेन्ड गर्न सक्नुहुन्छ । त्यसपछि कम्प्युटरमा ह्वाट्सएप डाउनलोड गरेर फाइलहरू फोनबाट कम्प्युटर वा कम्प्युटरबाट फोनमा शेयर गर्न सक्नुहुन्छ ।
ब्लुटुथबाट शेयर गर्ने
तपाईंसँग कुनै प्रकारको केबल छैन वा इन्टरनेट पनि छैन भने ब्लुटुथबाट फाइल शेयर गर्न सक्नुहुन्छ । यदि तपाईंले साना साइजका फाइल शेयर गर्न लाग्नुभएको छ भने याे विधि सही हुनसन्छ ।
त्यसका लागि आफ्नो कम्प्युटरमा ब्लुटुथ अन गर्नुहाेस् । फाइल शेयर गर्नुपर्ने माध्यममा फाइल शेयर अप्सनमा गई ब्लुटुथ छानेर त्यसबाट सहजै पठाउन सक्नुहुन्छ ।
फोन वा कम्प्युटर एउटै वाई-फाईमा कनेक्ट भएको अवस्थामा
यदि तपाईंको स्मार्टफोन वा कम्प्युटर एउटै वाई-फाई नेटवर्कमा कनेक्ट छन् भने तपाईंले फाइलहरू छिटो र भरपर्दो तरिकाले पठाउन सक्नुहुन्छ । त्यसका लागि तपाईंले आफ्नो फोनमा एउटा एप डाउनलोड गर्नुपर्छ भने कम्प्युटरमा कुनै सफ्टवेयर डाउनलोड गर्नुपर्दैन ।
यो विधिका लागि सबैभन्दा भरपर्दो एप स्न्यापड्रप हुनसक्छ । यो एप निःशुल्क प्रयोग गर्न सकिन्छ । साथै यसलाई प्रयोग गर्न साइनअप गर्न पर्दैन । माथि उपलब्ध लिंक प्रयोग गरी यसलाई डाउनलोड गर्न सक्नुहुन्छ वा सोझै प्ले स्टोरमा गई स्न्यापड्रप (Snapdrop) सर्च गरी डाउनलोड गर्न सकिन्छ ।
एप डाउनलोड गरिसकेपछि तपाईंले आफ्नो कम्प्युटरमा स्न्याड्रप डटनेट सर्च गर्नुभयो भने त्यहाँ एउटा नयाँ पेज खुल्छ । यदि तपाईं कम्प्युटरबाट स्मार्टफोनमा फाइल शेयर गर्दै हुनुहुन्छ भने कम्प्युटरको स्क्रिनमा देखाइएको फोनको आइकनमा ट्याप गर्नुपर्ने हुन्छ । त्यसपछि कम्प्युटरमा भएका फाइल देखिन्छन् ।
आफूलाई आवश्यक फाइलहरू सेलेक्ट गरेर सेन्ड गर्न सक्नुहुन्छ । फोनबाट फाइलहरू शेयर गर्न पर्यो भने फोनमा देखाइएको कम्प्युटरको आइकनमा ट्याप गरेर शेयर गर्न पर्ने हुन्छ ।