काठमाडौं । केही समयमा नै प्रयोगकर्ताको लागि गुगल असिस्टेन्टले नै पासवर्ड परिवर्तन गरिदिने भएको छ । गुगलले यो फिचर एक वर्ष अघि नै घोषणा गरेको थियो ।
अब भने यो फिचर कार्यान्वयनको अन्तिम चरणमा रहेको कम्पनीले जनाएको छ । असिस्टेन्ट वार्निङ नाम दिइएको यो फिचर सन् २०२२ भित्रै प्रयोगकर्ताले उपयोग गर्न पाउने छन् ।
यदि कुनै प्रयोगकर्ताको पासवर्ड ह्याक भएको छ वा कसैको कब्जामा परेको छ भने यसले वास्तविक प्रयोगकर्तालाई पासवर्ड परिवर्तन गर्नको लागि नोटिफिकेसन पठाउँछ ।
उक्त नोटिफिकेसनमा दुईवटा अप्सन हुनेछन्। आफैले पासवर्ड परिवर्तन गर्ने वा असिस्टेन्ट मार्फत पार्सवर्ड परिवर्तन गर्ने । आफ्नो अनुकुलता अनुसार प्रयोगकर्ताले यी दुई मध्ये कुनै पनि अप्सन प्रयोग गर्न सक्नेछन् ।
वेब भर्सनमा प्रयोग गरिएको आर्टिफिसियल इन्टलिजेन्स (एआई) लाई कुन काम कसरी गर्ने, कहाँ क्लिक गर्ने, कहाँ फर्म भर्ने, कसरी स्क्रोल गर्ने लगायतका विषयहरू पहिले नै सिकाइएको कम्पनीको दाबी छ ।