close

‘फेसबुकलाई ह्वाट्सएप बिक्री गरेकोमा पछुतो लागेको छ’

टेकपाना टेकपाना

बैशाख २४, २०७९ २२:५८

‘फेसबुकलाई ह्वाट्सएप बिक्री गरेकोमा पछुतो लागेको छ’

काठमाडौं । ह्वाट्सएपका एक पूर्वकार्यकारीले फेसबुकलाई ह्वाट्सएप बिक्री गरेकोमा पछुतो लागेको अभिव्यक्ति दिएका छन् ।

ह्वाट्सएपका पूर्व चिफ बिजनेस अफिसर निरज अरोराले फेसबुकले ह्वाट्सएपको वास्तविक मर्म नै बुझ्न नसकेको भन्दै ह्वाट्सएप बिक्री गर्ने निर्णय गलत भएको अभिव्यक्ति दिएका हुन् ।

प्रविधिको संसारमा धेरै चर्चा गरिएका सम्झौतामध्ये मेटा (तत्कालीन फेसबुक) ले म्यासेजिङ एप ह्वाट्सएप खरिद गर्ने सम्झौता पनि एक थियो । मेटा र ह्वाट्सएपबीच सन् २०१४ मा भएकाे २२ अर्ब डलरको अधिग्रहण सम्झौताले त्यतिबेला विश्व प्रविधि बजारलाई हल्लाएको थियो ।

अरोराले आफ्नो  लिंक्डइन र अन्य सामजिक सञ्जालका प्लेटफर्महरूमा लामो पोस्ट लेख्दै के गल्ती भयो भनेर व्याख्या गरेका छन् ।

उनका अनुसार मार्क जुकरबर्गको नेतृत्वमा रहेको फेसबुकले पहिलो पटक २०१२ मा ह्वाट्सएपमा प्रस्ताव राखेको थियो । यद्यपि त्यो समयमा कम्पनीले फेसबुककाे प्रस्तावलाई अस्वीकार गरेर अगाडि बढेको थियो ।

सन् २०१४ मा फेसबुकले ह्वाट्सएपलाई पुनः प्रस्ताव राख्यो, जसमा ह्वाट्सएपका लागि विभिन्न योजना थिए । ती योजनामा इन्ड-टु-इन्ड इन्क्रिप्सनको लागि पूर्ण समर्थन, कहिले कुनै विज्ञापन नदिने, उत्पादनका निर्णयहरूमा पूर्ण स्वतन्त्रता, ज्यान कोअम, (सह-संस्थापक र पूर्वसीईओ) का लागि कम्पनीको बोर्डमा सहभागिता, माउन्टेन भ्यूमा आफ्नै कार्यालय लगायतका विषय समेटिएको उनले उल्लेख गरेका छन् ।

यो सबै कुरामा फेसबुकले सहमति पनि जनाएपनि यस अनुरुप कुनै पनि काम नभएकाे उनकाे जिकिर छ ।

‘आज ह्वाट्सएप फेसबुकको दोस्रो ठूलो प्लेटफर्म हो (इन्स्टाग्राम वा फेसबुक मेसेन्जरभन्दा पनि ठूलो) । तर यो प्लेटफर्म फेसबुकको छायाँमा परेको छ, जसका लागि हामीले हाम्रो मनदेखि काम गरेका थियौं र संसारको लागि पनि उत्तिकै महत्त्वपूर्ण निर्माण गर्न चाहन्थ्यौं ।  यो फेसबुकको हिस्सा बन्दा पछुताउने म मात्र होइन,’ अरोराले आफ्नो लिंक्डइन पोस्टमा उल्लेख गरेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२