काठमाडौं । चीनको रेडियो तथा टेलिभिजन नियामकले इन्टरनेटमा हुने प्रसारणलाई लक्षित गर्दै नयाँ नीति लागू गरेको छ । यसअनुसार अब १६ वर्षमुनिका बालबालिकाले रातको १० बजेपछि लाइभ स्ट्रिमिङ हेर्न तथा स्ट्रिमरलाई गिफ्ट पठाउन पाउने छैनन् ।
‘अनलाइन लाइभ स्ट्रिमिङ प्लेटफर्मले नाबालिगलाई रोक लगाउनुपर्छ,’ नियामकले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘लाइभ स्ट्रिमिङमार्फत भर्चुअल गिफ्ट प्रदान गर्ने भएपनि त्यसलाई अन्त्यमा क्यासमा निकाल्ने हो । त्यो हुँदा यसले बालबालिकालाई ‘टिपिङ’ क्रियाकलापमा संलग्न गराउने काम गरिरहेको छ ।’
यसले बालबालिकालाई मानसिक तथा शारीरिक रुपमा असर पारिरहेको उल्लेख गर्दै नियामकले नयाँ नीति कार्यान्वयनमा ल्याएकाे हाे ।
नियामकले यस खालको राय व्यक्त गरेको भएपनि धेरैले चीन सरकारको यो कदम लाइभ स्ट्रिमिङ क्षेत्रलाई नै ध्वस्त पार्ने योजना भएको बताएका छन् ।
पछिल्लो केही वर्षयता चीनमा लाइभ स्ट्रिमिङको बजार मौलाउँदै गएको छ । त्यसलाई नियन्त्रण गर्न चीन सरकारले यसअघि लाइभ स्ट्रिमिङमा सान्दर्भिक र कानूनसंगत कन्टेन्टमात्रै हुनुपर्ने नियम लागू गरेको थियो ।
यी दुवै कदमलाई लिएर धेरैले चीन सरकारले लाइभ स्ट्रिमिङ बजारलाई ध्वस्त पार्ने तयारी गरिरहेकाे तर्क गरेका छन् ।