close

रोनाल्डो बने ट्वीटरमा १० करोड फलोअर हुने पहिलो खेलाडी, मेस्सीको भेरिफाइड अकाउन्ट नै छैन

टेकपाना टेकपाना

बैशाख २९, २०७९ २१:६

रोनाल्डो बने ट्वीटरमा १० करोड फलोअर हुने पहिलो खेलाडी, मेस्सीको भेरिफाइड अकाउन्ट नै छैन

काठमाडौं । इन्स्टाग्राममा सर्वाधिक फलोअर भएका पोर्चुगिज फुलबल खेलाडी क्रिस्टियानो रोनाल्डो ट्वीटरमा १० कराेड फलोअर पूरा गर्ने पहिलो खेलाडी बनेका छन् । त्यस्तै रोनाल्डो फेसबुकमा पनि सबैभन्दा बढी फलोअर हुने खेलाडीको सूचीमा पहिलो अङ्कमा यथावत् छन् ।

यसैबीच ट्वीटरमा जोडिएको १२ वर्ष पूरा नहुँदै रोनाल्डोको ट्वीटर ह्याण्डलमा १० कराेड फलोअर पुगेका छन् । तीन सर्वोत्कृष्ट सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम र ट्वीटरमध्ये रोनाल्डोका सबैभन्दा कम फलोअर ट्वीटरमा छन् ।

फेसबुकमा १५ करोड १४ लाख र इन्स्टाग्राममा ४४ करोड फलोअर गरी सामाजिक सञ्जालभर रोनाल्डोलाई ६९ करोड १४ लाखभन्दा बढीले फलो गरेका छन् । त्यस्तै केही समयमा नै रोनाल्डो सम्पूर्ण सामाजिक सञ्जालमा गरी ७० करोड फलोअर हुने पहिलो व्यक्ति बन्नेछन् ।

ट्वीटरमा सर्वाधिक फलोअर हुने खेलाडीको सूचीमा पहिलो अङ्कमा दश करोड फलोअरका साथ क्रिस्टियानो रोनाल्डो रहेका छन् भने भने दोस्रोमा पाँच करोड ६७ लाख फलोअरका साथ ब्राजिलियन फुटबल खेलाडी नेइमाज जुनियर रहेका छन् । पाँच करोड १२ लाख फलोअरका साथ अमेरिकाकी बास्केटबल खेलाडी लेब्रन जेम्स तेस्रो स्थानमा रहेका छन् भने चौथोमा ४८ मिलियन फलोअरका साथ भारतीय क्रिकेट खेलाडी विराट कोहली छन् ।

त्यस्तै ट्वीटरमा सर्वाधिक फलोअर हुने खेलाडीको पाँचौ स्थानमा तीन करोड ७२ लाख फलोअरका साथ भारतीय क्रिकेट खेलाडी सचिन तेन्दुलकर छन् । यसो हेरिरहँदा अर्जेन्टिनी फुटबल खेलाडी लिओनल मेस्सी कति नम्बरमा छन् भन्ने कौतुहलता तपाईँको मनमा हुनसक्छ । लियोनल मेस्सीको नाममा ट्वीटरमा कुनै पनि आधिकारिक अकाउन्ट नै छैन ।

मेस्सीको नाम जोडिएको भेरिफाइड ह्यान्डल टिम मेस्सीमा भने ३० लाख फलोअर छन् । जहाँ व्यापारिक ट्वीट बढी हुने गर्छन् । यसबाट के बुझ्न सकिन्छ बने मेस्सीले आफ्नो व्यक्तिगत प्रयोजनका लागि ट्वीटर प्रयोग गर्दैनन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२