काठमाडौं । संयुक्त राज्य अमेरिकाको जस्टिस डिपार्टमेन्ट (न्याय विभाग) ले प्रतिबन्धित क्रिप्टोकरेन्सीको कारोबार गरेको आरोपमा एक व्यक्तिविरुद्ध मुद्दा दायर गरेको छ ।
विभागले दायर गरेको उजुरी अनुसार परिचय नखुलेका ती अमेरिकी नागरिकले क्रिप्टोकरेन्सी प्रतिबन्ध रहेका देशहरूमा क्रिप्टो कारोबारका लागि अनलाइन पेमेन्ट प्लेटफर्म सञ्चालन गरेको पाइएको छ । ती देशमा क्युबा, इरान, उत्तर कोरिया, सिरिया वा रूस हुनसक्ने उजुरीमा उल्लेख छ ।
उजुरीमा उल्लेख भए अनुसार सो व्यक्तिले डोमेनहरू खरिद गर्न अमेरिकामा एक कम्पनी खोलेर आफ्नो प्लेटफर्म र यसका ग्राहकहरूको वित्तीय कारोबार सञ्चालन गर्न अमेरिकी वित्तीय खाता प्रयोग गरेका थिए ।
यसपछि उक्त प्लेटफर्मसँग जोडिएका खातामा भर्चुअल मुद्रा ट्रान्सफर गरेका थिए । ती व्यक्तिले अमेरिका र प्रतिबन्धित देशहरूमा एक करोड डलर बराबरको बिट्क्वाइनको कारोबार गरेको मुद्दामा उल्लेख छ ।