close

एनसेलद्वारा पुल्चोक क्याम्पसका १८ विद्यार्थीहरुलाई छात्रवृत्ति

टेकपाना टेकपाना

जेठ १२, २०७९ १२:४१

एनसेलद्वारा पुल्चोक क्याम्पसका १८ विद्यार्थीहरुलाई छात्रवृत्ति

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत अध्ययन संस्थान, पुल्चोक क्याम्पसको पाँच संकायमा अध्ययनरत विद्यार्थीहरुलाई बुधबार छात्रवृत्ति तथा उत्कृष्टता सम्मान २०७८ प्रदान गरेको छ । एनसेल कार्यलयमा आयोजित कार्यक्रममार्फत विद्यार्थीलाई एक लाख रकम बराबरको छात्रवृत्ति तथा सम्मान प्रदान गरिएको हो ।

२०७१ सालबाट शुरु गरिएको एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान कार्यक्रमले प्राविधिक शिक्षालाई प्रोत्साहन गर्दै युवा प्रतिभाहरुको पहिचान र उनीहरुको शैक्षिक उत्कृष्टताको कदर गर्दै आएको छ । यस कार्यक्रम अन्तर्गत सिभिल, ईलेक्ट्रिकल, ईलेक्ट्रोनिक्स् एन्ड कम्युनिकेशन, कम्प्युटर र मेकानिकल ईन्जिनियरिङ संकायमा अध्ययन गर्ने उत्कृष्ट विद्यार्थीलाई समावेश गरिन्छ ।

यस वर्ष अर्थात २०७८ का लागि १८ वटा शीर्षक अन्तर्गत सिभिल, ईलेक्ट्रिकल, ईलेक्ट्रोनिक्स् एन्ड कम्युनिकेशन, कम्प्युटर र मेकानिकल ईन्जिनियरिङ्ग संकायका १८ जना विद्यार्थीलाई एनसेल छात्रवृत्ति प्रदान गरिएको कम्पनीले जनाएको छ । साथै उत्कृष्ट नतिजा ल्याई यी पाँच संकायबाट स्नातक उतीर्ण गरेका ६ जना विद्यार्थीहरुलाई एनसेल उत्कृष्टता सम्मान प्रदान गरिएको छ ।

इन्जिनियरिङ्ग अध्ययन संस्थानका डीन प्रा.डा. शशीधर राम जोशी र एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले संयुक्तरुपमा विद्यार्थीहरुलाई एनसेल उत्कृष्टता सम्मान प्रदान गरेका हुन् । त्यसैगरी, एनसेलका प्रमुख मानव संसाधन तथा प्रशासकीय अधिकृत युवराज श्रीवास्तव, प्रमुख सूचना अधिकृत विशाल मणि उपाध्याय, प्रमुख कानुन, संस्थागत सरकारी तथा नियामक मामिला अधिकृत रमेश घिमिरे र प्रमुख वित्तिय अधिकारी अनुपम भाटले विद्यार्थीहरुलाई एनसेल छात्रवृत्ति प्रदान गरेको छन् ।

कोभिड–१९ महामारीका कारणले गर्दा गत वर्ष छात्रवृत्ति तथा उत्कृष्टता सम्मानको कार्यक्रम आयोजना गर्न नसकिएकाले यसै कार्यक्रममा २०७७ सालका १८  जनालाई प्रदान गरिएको छात्रवृत्ति र ६ जना विद्यार्थीलाई प्रदान गरिएको उत्कृष्टता सम्मानको प्रमाण पत्र पनि प्रदान गरिएको कम्पनीले जनाएको छ ।

कार्यक्रममा बोल्दै इन्जिनियरिङ्ग अध्ययन संस्थानका डीन प्रा.डा. शशीधर राम जोशीले एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान कार्यक्रमकोलागि एनसेलसँग सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गरेका छन् । उनले यो कार्यक्रम उदीयमान युवा प्रतिभाहरुका ज्ञान अभिवृद्धि गर्न ठूलो भुमिका खेलेको र यसले ज्ञानको विकासमा योगदान पुर्‍याउँने बताए ।

यसैगरी एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले छात्रवृत्ति तथा उत्कृष्टता सम्मान कार्यक्रम कम्पनीको सामाजिक पहलहरु मध्येकै सबैभन्दा उत्कृष्ट भएको बताएका छन् । ‘प्राविधिक शिक्षालाई प्रोत्साहन गर्दै युवा प्रतिभाहरुको पहिचान र उनीहरुको शैक्षिक उत्कृष्टताको कदर गर्नु यस कार्यक्रमको उदेश्य रहेको छ,’ उनले भने, ‘व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत, शिक्षा क्षेत्र हाम्रो प्राथमिकतामा छ र यसलाई हामी निरन्तर उच्च प्राथकितामा राख्छौं ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२