close

गुल्मी अस्पतालमा अनलाइनबाटै ओपीडी टिकट काट्ने सुविधा, ल्याब रिपोर्ट लिन लाइन बस्नु नपर्ने

टेकपाना टेकपाना

जेठ १९, २०७९ १३:२

गुल्मी अस्पतालमा अनलाइनबाटै ओपीडी टिकट काट्ने सुविधा, ल्याब रिपोर्ट लिन लाइन बस्नु नपर्ने

काठमाडौं । लुम्बिनी प्रदेशस्थित जिल्ला अस्पताल गुल्मीले आफ्नो स्वास्थ्य सूचना प्रणाली थप परिस्कृत बनाएको छ । यस अन्तर्गत अस्पतालले इलेक्ट्रोनिक मेडिकल रेकर्ड सिस्टमलाई वेब-बेस्ड सिस्टममा स्तरवृद्धि गरी बिरामीको महत्त्वपूर्ण स्वास्थ्य विवरण डिजिटल रुपमै राख्नसक्ने व्यवस्था गरेको छ ।

यसले बिरामीको रोगको निदान र उपचारको गुणस्तर बढाउन थप सहज हुने बताइएकाे छ । उक्त स्वास्थ्य सूचना प्रणाली स्तरवृद्धिमा स्वास्थ्य बीमा तथा डीएचआईएस–२ इन्टिग्रेसन गरी दुई महत्त्वपूर्ण विशेषता पनि कार्यान्वयन गरिएको छ ।

स्वास्थ्य बीमा बोर्ड प्रवर्द्धित स्वास्थ्य बीमामा आबद्व बिरामीहरुको इलिजिविलिटी अर्थात् बाँकी बीमा सुविधा रकम हेर्न सकिने र बीमा दाबी पनि ईएमआर सफ्टवेयरमार्फत डिजिटल रुपमै गर्न सकिने इन्टिग्रेटेड सिस्टम सुरु गरिएको छ ।

बिरामीको प्रत्येक बिल स्क्यान गरी अपलोड गर्नु नपर्ने गरी स्वास्थ्य सूचना प्रणालीबाट सिधै बिरामीको बिल अपलोड गर्न सकिने भएको छ ।

यसले गर्दा समयको बचत हुनुका साथै विगतमा जस्तो तोकिएको समय सीमभित्र बीमा दाबी गर्न नसक्दा अस्पतालले नोक्सान व्यहोर्नुपर्ने समस्याको समाधान हुने जनाइएकाे छ ।

त्यसैगरी, डीएचआईएस–२ इन्टिग्रेसनले अब अस्पताल सूचना प्रणालीलाई नेपाल सरकारको एचएमआईएस रिपोर्टिङ प्लेटफर्मसँग जोडेको छ ।

अस्पतालको मेडिकल रेकर्डलाई अस्पतालको स्वास्थ्य सूचना प्रणालीमार्फत डीएचआईएस-२ प्लेटफर्ममा सिधै मासिक रिपोर्टहरु पठाउन सकिने भएको छ ।

यसले गर्दा विगतमा जस्तो प्रत्येक शाखाबाट डेटा संकलन गरी डीएचआईएस-२ प्लेटफर्ममा म्यानुअल डेटा इन्ट्री गर्नुपर्ने छैन ।

अस्पतालले बिरामीहरुको सहजतालाई मध्यनजर गर्दै अनलाइन अपोइन्टमेन्ट र पोर्टल सेवा पनि ल्याएकाे छ ।

यसमार्फत बिरामीहरुले अस्पतालमा कार्यरत आफूले चाहेको डाक्टरसँग मोबाइल वालेटमार्फत घरमै बसी अपोइन्टमेन्ट बुक गर्न र परामर्श शुल्क भुक्तानी गर्न सक्नेछन् र साथसाथै बिरामीहरुले आफ्नो ल्याब टेस्ट रिपोर्टहरु पनि घरमै बसी अनलाइनमार्फत हेर्न सक्नेछन् ।

यी सेवाहरु गुल्मी अस्पताल, निक साइमन्स इन्टिच्युट र अस्पतालहरुमा इलेक्ट्रोनिक मेडिकल रेकर्ड (ईएमआर) सफ्टवेयर सेवा प्रदान गरीरहेको कम्पनी कोजेन्ट हेल्थको सहकार्यमा सञ्चालन गरिएको हो ।

कोजेन्ट हेल्थ स्वास्थ्य सूचना प्रविधि क्षेत्रको नवप्रवर्तन कम्पनी हो । कम्पनीले इलेक्ट्रोनिक मेडिकल रेकर्ड (ईएमआर) मा आधारित अस्पताल तथा स्वास्थ्य संस्थाका व्यवस्थापनलाई पूर्ण रुपमा डिजिटलाइज गर्नका लागि प्रविधि निर्माणको काम गर्दै आएको छ ।

कोजेन्ट हेल्थद्धारा निर्मित कोजेन्ट ईएमआर, कोजेन्ट ईएमआर वेब लगायत ई-अपोइन्टमेन्ट जस्ता प्रविधि नेपालभरका सयभन्दा बढी अस्पताल र स्वास्थ्य संस्थामा प्रयोग भइरहेकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३