काठमाडौँ । विद्युतीय सवारी साधन पछिल्लो समय धेरैको रोजाइ बन्दै गएको छ । वातावरण प्रदूषण कम गर्ने, बढ्दो इन्धन मूल्यसँगै यसमा जडान हुने विभिन्न सुरक्षा प्रविधिका कारण पनि यस्ता सवारीप्रतिको आकर्षण बढ्दो छ ।
विद्युतीय कारमा प्रयोग हुने विभिन्न प्रविधिमध्ये एउटा हो, ३६० डिग्री भ्यु क्यामेरा । तपाईं जतिसुकै कुशल चालक भएपनि गाडीलाई भिडभाड वा सहरी क्षेत्रमा पार्क गर्नुपर्दा धेरै समस्या आउने गर्छ ।
त्यस्तै, गाडी चलाइरहेका बेला अगाडि वा कुनै भागमा अचानक केही वस्तु आएमा त्यहाँ दुर्घटना हुने सम्भावना उच्च हुन्छ । कारमा जडान भएको ३६० डिग्री क्यामेराले कार चालकलाई कार वरपर रहेका वस्तु वा चारैतिरको दृश्य सहजै हेर्न सहयोग गर्दछ ।
यो प्रविधिलाई ‘बर्ड्स आइ भ्यु’, ‘सराउन्ड भ्यु क्यामेरा’ वा ‘अराउन्ड भ्यु क्यामेरा’ पनि भन्ने गरिन्छ । यसका लागि कारको विभिन्न भागमा क्यामेराको जडान गरिएको हुन्छ ।
‘३६० डिग्री क्यामेरा सिस्टम’ मा एउटा क्यामेराले मात्र काम गर्दैन । त्यसैले, न्यूनतम चार ओटा क्यामेरा कारको वरपर राखिएको हुन्छ ।
सामान्यतः गाडीको ग्रिलमा, दुवै छेउको ऐनामुनि, अगाडि र पछाडिको बम्परको कुना आदिजस्ता भागमा क्यामेराको जडान भएको हुन्छ ।
गाडी पछाडि लग्नुपर्ने भएमा वा बटन थिचेमा क्यामरा स्वतः सक्रिय हुन्छ । सफ्टवेयरले प्रत्येक क्यामराबाट आउने सम्पूर्ण दृश्यलाई तपाईँको कारमा रहेको इन्फोटेनमेन्ट स्क्रिनमा एकैपटक देखाउँछ ।
केही गाडीहरूले ती क्यामेरामध्ये कुनै एउटाबाट मात्र दृश्य प्रदर्शन गर्नसक्छन् । पछिल्लो समय सार्वजनिक भएका ह्युन्डाई, निसान, टोयोटा, किया, फोर्ड लगायतका विद्युतीय कारमा यो प्रविधिको जडान भएको पाइन्छ ।
३६० डिग्री भ्यु क्यामेराको प्रयोग विद्युतीय सवारी साधनसँगै इन्धनयुक्त सवारीसाधनमा पनि प्रयोग हुनेगर्छ ।
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३
