close

अब ह्वाट्सएपमा डिलिट भएको मेसेज फिर्ता ल्याउन सकिने

टेकपाना टेकपाना

जेठ २२, २०७९ ११:३०

अब ह्वाट्सएपमा डिलिट भएको मेसेज फिर्ता ल्याउन सकिने

काठमाडौं । ह्वाट्सएपले प्रयोगकर्ताका लागि समय समयमा नयाँनयाँ फिचरहरू ल्याइरहेको हुन्छ । कम्पनीले मेसेजिङ एपमा प्रयोगकर्ताको अनुभव अझ राम्रो बनाउनका लागि अनेक प्रयास गरिरहेको हुन्छ ।

यसैबीच अब कम्पनीले डिलिट भएका मेसेज फिर्ता ल्याउन सकिने एउटा टुल समेत ल्याउने भएको छ । यो फिचर त्यस्ता मेसेज फिर्ता ल्याउनका लागि सहयोगी हुनेछ, जसलाई तपाईँ हामीले भुलबश डिलिट गरिरहेका हुन्छौँ ।

ह्वाट्सएपको नयाँ ‘अनडु’ (Undo) बटन तपाईँले ‘डिलिट फर मी’ विकल्प दबाएर हटाएका मेसेज फिर्ता ल्याउने कार्यमा उपयोग गर्न सक्नुहुन्छ । ह्वाट्सएपसँग सम्बन्धित सबै पछिल्ला अपडेट ट्र्याक गर्ने वाबेटाइन्फोका अनुसार ह्वाट्सएपले चाँडै नै यसका लागि ‘अनडु’ बटन ल्याउने योजना बनाइरहेको छ ।

यसमा देखाइएको स्क्रिनशट अनुसार यदि कुनै प्रयोगकर्ताले ‘डिलिट फर मी’ विकल्प दबाउँछ भने, ह्वाट्सएपले तत्कालै एउटा पपअप देखाउनेछ । जसले प्रयोगकर्ताको कदमलाई ‘अनडु’ अर्थात डिलिट भएको मेसेज पुरानै अवस्थामा फिर्ता ल्याउने कि भनेर सोध्ने काम गर्दछ ।

त्यसो त यस्तो ‘अनडु’ बटन टेलिग्राम जस्ता एपमा यस अघि देखि नै उपलब्ध छ । ह्वाट्सएपमा पनि टेलिग्रामकै ढाँचामा यो बटन रहने सम्भावना छ । यस बाहेक प्रयोगकर्ताले ‘अनडु’ गर्नका लागि केही सेकेन्डको समय मात्र पाउने छन् ।

यसका साथै ह्वाट्सएपले एडिट बटनमा समेत काम गरिरहेको छ । जसले प्रयोगकर्तालाई मेसेज पठाइसकेपछि पनि एडिट गर्ने मौका दिनेछ ।  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३