close

नागरिक उड्डयनन प्राधिकरण र जल तथा मौसम विज्ञान विभागले पाउने भए एमटुएम सिमकार्ड

टेकपाना टेकपाना

जेठ २७, २०७९ १८:४०

नागरिक उड्डयनन प्राधिकरण र जल तथा मौसम विज्ञान विभागले पाउने भए एमटुएम सिमकार्ड

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले नागरिक उड्डयन प्राधिकरण र जल तथा मौसम विज्ञान विभागलाई एमटुएम सिमकार्ड उपलब्ध गराउन स्वीकृति दिएको छ । ‘एम टु एम’ अर्थात् एउटा मसिनबाट अर्को मसिनबीच सम्पर्क कायम गर्न प्रयोग हुने विशेष प्रकारको सिमकार्ड हो ।

उड्डयन प्राधिकरण र मौसम विभागले टेलिकमलाई दिएको आवेदनका आधारमा दूरसञ्चार प्राधिकरणले सिमकार्ड उपलब्ध गराउन अनुमति दिएको हो । यसअघि नम्बरिङ प्लान तयार नभएको भन्दै मोबाइल सेवा प्रदायकलाई पत्र पठार प्राधिकरणले तत्कालका लागि ‘एम टु एम’ सिमकार्ड बिक्री नगर्न निर्देशन दिएको थियो ।

त्यससँगै रोकिएको एमटुएम सिमकार्ड वितरणलाई चिर्दै प्राधिकरण आफैँले सिमकार्ड उपलब्ध गराउने स्वीकृति दिएको हो । “हामी नयाँ नम्बरिङ प्लान गर्दै छौं,” प्राधिकरणका निर्देशक अम्बर स्थापितले भने, “आईओटी र एमटुएमका लागि नयाँ नम्बर हुनसक्छ कि भनेर अध्ययन गर्ने कार्य भइरहेको छ ।”

“यस्तोमा प्राधिकरणले सिमकार्ड बिक्री भएपनि आवश्यक परेको खण्डमा परिवर्तन गर्नसक्ने गरि सिमकार्ड उपलब्ध गराउन सेवा प्रदायकलाई भनिएको थियो,” स्थापितले अगाडि भने, “तर, सेवा प्रदायकले दिइसकेको नम्बर परिवर्तन गर्ने प्रक्रिया झन्झटिलो हुने भन्दै त्यसलाई मानेनन् ।”

“सेवा प्रदायकले नमानेपछि प्राधिकरणले अर्को व्यवस्था नहुँदासम्म एमटुएम सिमकार्ड बिक्री नगर्न निर्देशन दिएको थियो । अन्ततः उक्त निर्देशन व्यवहारिक नदेखिएसँगै प्राधिकरण आफैँले सेवाग्राहीसँग कुरा गरेर सिमकार्ड परिवर्तन हुनसक्ने जानकारी दिँदा स्वीकार्य भएको खण्डमा मात्रै सिमकार्ड उपलब्ध गराउन स्वीकृति प्रदान गर्ने निर्णय गरेको थियो ।”

त्यसका लागि सेवा प्रदायकले एमटुएम सिमकार्डका लागि आएका आवेदनबारे दूरसञ्चार प्राधिकरणलाई जानकारी दिनुपर्ने व्यवस्था गरिएको थियो । सोही व्यवस्था अनुरूप नेपाल टेलिकमले प्राधिकरणमा बुझाएका आवेदन मध्ये नागरिक उड्डयन विभाग र जल तथा मौसम विज्ञान विभासँग कुरा गरि उनीहरूलाई सिमकार्ड उपलब्ध गराउन टेलिकमलाई स्वीकृति प्रदान गरिएको प्राधिकरणले जनाएको छ ।

उड्डयन प्राधिकरणले आन्तरिक रूपमा प्रयोग गरिने अटोमेटिक मिटरिङ सिस्टमका लागि र जल तथा मौसम विज्ञान विभागले मौसमको यकिन जानकारी संकलन गर्ने कार्यमा एमटुएम प्रयोग गर्नेछ । 

‘हामीले विभाग र प्राधिकरणसँग भोलिका दिनमा सिमकार्ड नम्बर परिवर्तन हुन सक्ने विषयमा कुरा गर्‍यौं,” निर्देशक स्थापितले भने, “यो विषयमा उनीहरूले सहमति जनाए पश्चात हामीले टेलिकमलाई सिमकार्ड उपलब्ध गराउने स्वीकृति दिएका छौं । नम्बर परिवर्तनको विषयमा सहमत नहुने कम्पनीको हकमा स्वीकृति प्रदान गरिएको छैन ।”

टेलिकमले पनि दूरसञ्चार प्राधिकरणबाट दुई ओटा निवेदन स्वीकृति भएको जानकारी दिएको छ । “हामीले दिएका निवेदन मध्ये दुई ओटाले मात्रै स्वीकृति पाएका छन्,” टेलिकमका प्रवक्ता शोभन अधिकारले भने, “बाँकी व्यक्ति तथा कम्पनीको हकमा भने कुनै निर्णय आएको छैन ।”

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६