काठमाडौं । क्रिप्टोकरेन्सी बजारले एक हप्तामै ४०० अर्ब डलर अर्थात् ४९८ खर्ब रुपैयाँभन्दा बढी रकम गुमाएको छ । गत सात महिनाको हिसाब गर्ने हो भने यो अवधिमा मात्र क्रिप्टो बजार ६० प्रतिशत भन्दा बढीले घटेको हाे ।
क्रिप्टोकरेन्सीको बजारमा सबैभन्दा धेरै हिस्सा भएको बिटक्वाइनकाे मूल्यमात्रै गत हप्ता १० प्रतिशतले घटेर २५ हजार डलर (३१,१४०० रुपैयाँ) मा झरेको थियो ।
त्यस्तै इथेरियम, कार्नाडो, सोलाना र डजक्वाइनको मूल्य पनि १५ देखि २५ प्रतिशतले घटेको छ । गएको दुई दिनमा कुनै पनि क्रिप्टोकरेन्सीको मूल्यमा सामान्य वृद्धि पनि आएको छैन ।
उत्कृष्ट १०० भित्र पर्ने क्रिप्टोकरेन्सीको मूल्य पनि ओरालो लाग्ने क्रममा नै छ । पछिल्लो समयमा बढ्दै गएको मूल्यवृद्धिका कारण क्रिप्टोकरेन्सीमा मात्र होइन प्रविधि क्षेत्रको स्टकमा गरिने लगानीमा ह्रास आइरहेको छ भने यी क्षेत्रको बजारमूल्य घट्ने क्रममा नै रहेको छ ।
क्रिप्टो बजारको कुरा गर्ने हो भने पछिल्लो समयमा कुनै न कुनै क्रिप्टो प्लेटफर्ममा आइरहेको उतारचढावका कारण मूल्यमा गिरावट आइरहेको छ ।
हालै भने क्रिप्टो लेन्डिङ प्लेटफर्म (एक जनाको क्रिप्टो अरूलाई नै ऋणमा प्रयोग गर्न दिने) सेल्सियस नेटवर्कले बजारको स्थिति सामान्य नभएको भन्दै बिटक्वाइन विथड्र (बिटक्वाइनलाई अन्य थर्ड पार्टी वालेटमा सार्ने काम) स्थगित गर्ने सूचना जारी गरेको थियो ।
यसपछि २४ घण्टाभित्रै बिटक्वाइनको मात्र १५ प्रतिशतले मूल्य घटेको छ ।