काठमाडौं । एकपटक तपाईंको घरमा भएको वाई-फाईमा कतिवटा डिभाइस कनेक्ट छन् भन्ने कुरा याद गर्नुहाेस् त । अनि कनेक्ट भएका डिभाइसमा के-कस्ता डेटा भण्डारण भएका होलान् ? ती डिभाइसमा तपाईंको क्रेडिट कार्ड नम्बर, बैङ्किङ विवरण तथा अन्य व्यक्तिगत जानकारी हुनसक्छन् ।
यदि वाई-फाईमा कमजोरी छ भने यस्ता डिभाइस सजिलै ह्याकरको पहुँचमा पुग्नसक्छ । सन् २०२१ मा मात्र वाई-फाईमा देखिएकाे कमजोरीका कारण विश्वभरबाट सात अर्ब डलरभन्दा बढी गुमेकाे थियाे ।
यस्ता घटनामा फिशिङ र स्क्याम बढी रहेका छन् । यदि तपाईंको वाई-फाई सुरक्षित छ भने यस्ता घटनाको जोखिम निकै कम हुन्छ । यति मात्र नभई, यसले तपाईंको वाई-फाई प्रयोग गर्ने अनधिकारिक वा अनावश्यक व्यक्तिबाट पनि बचाउँछ ।
यसले गर्दा तपाईंको वाई-फाई स्लो हुनबाट बच्छ । घरको वाई-फाई सुरक्षित राखेर व्यवस्थापन गर्न निकै सहज हुन्छ । आज हामी वाई-फाई सुरक्षित राख्ने केही १० उपायबारे चर्चा गर्दै छौं ।
राउटरलाई आफ्नो घरको बीच भागमा राख्नुहोस्
वाई-फाईलाई तपाईं कुन ठाउँमा कसरी राख्नुभएको छ भन्ने कुराले पनि यसको सुरक्षामा महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ । त्यसैले पनि वाई-फाई सुरक्षित राख्ने स्मार्ट तरिका अपनाउनु आवश्यक हुन्छ ।
यदि मिल्छ भने तपाईंले वाई-फाई राउटरलाई घरको बीच भागमा राख्न सक्नुहुन्छ । राउटरले सबै दिशातिर सिग्नल छाडिरहेको हुन्छ । यदि तपाईंले वाई-पाई घरको बीच भागमा राख्नुभएको छ भने त्यसले सबै ठाउँमा उत्तिकै गतिको इन्टरनेट प्रवाह गरिरहेको हुन्छ ।
वाई-फाईमा बलियाे पासवर्ड राख्ने र समय समयमा परिवर्तन गरिरहनुहाेस्
तपाईंको वाई-फाईका लागि युनिक पासवर्ड राख्नु वाई-फाई सुरक्षाका दृष्टिकोणले निकै उपयुक्त मानिन्छ । वाई-फाईमा मात्र नभई तपाईंले पासवर्ड राख्नुपर्ने हरेक डिभाइस वा अकाउन्टमा कडा पासवर्ड राख्नुपर्छ ।
वाई-फाईको सन्दर्भमा भने तपाईंले अरूले सहजै अनुमान लगाउन नसक्ने किसिमको पासवर्ड राख्नुपर्ने हुन्छ ।
पासवर्ड राख्दा तपाईंले आफ्नो जन्ममिति, आफ्नो निकनेम, फोन नम्बर, वा कसैका नाम राख्ने बानी हटाउनुपर्छ । पासवर्ड राख्दा कुनै पनि व्यक्तिले सहजै अनुमान लगाउन सक्दैन भन्ने कुरामा विश्वस्त हुनुपर्छ ।
त्यस्तै तपाईंले जति कडा पासवर्ड राखे पनि न्यूनतम छ महिनामा परिवर्तन गरिरहनुपर्छ । वाई-फाईको मात्र नभई, तपाईंले पासवर्ड राखेका हरेक डिभाइस वा अकाउन्टको पासवर्ड परिवर्तन गरिरहनु पर्छ ।
राउटरको डिफल्ट लगइन डिटेल परिवर्तन गरिरहनुहोस्
कम्पनी अनुसार राउटरको लगइन डिटेल प्रायः उस्तै हुनेगर्छ । त्यसैले तपाईंले आफ्नो वाई-फाईको डिफल्ट लगईन डिटेल परिवर्तन गरिरहन पर्छ । तपाईं सम्बन्धित वाई-फाईको एप प्रयोग गरेर वा आईपी एड्रेसमार्फत लगईन गर्न सक्नुहुन्छ ।
यसका लागि तपाईंले आफ्नो एडमिन नेम र पासवर्ड परिवर्तन गरिरहन आवश्यक हुन्छ ।
फायरवाल र वाई-फाई इन्क्रिप्सन अन गर्नुहोस्
प्रायः धेरैजसो राउटरहरूमा बाहिरी ह्याकिङलाई रोक्न फायरवाल समावेश गरिएको हुन्छ । साथै तपाईंको राउटर र जडान गरिएका डिभाइसबीच पठाइएका डेटामा कसैलाई पनि छिर्नबाट जोगाउन वाई-फाई इन्क्रिप्सन हुन्छ ।
दुवै सामान्यतया डिफल्ट रूपमा सक्रिय हुन्छन् । तर पनि फायरवाल र वाई-फाई इन्क्रिप्सन सक्रिय छन्, छैनन् भन्ने कुरा पहिले नै सुनिश्चित गर्नुपर्ने हुन्छ ।
गेस्ट नेटवर्क बनाउनुहोस्
यदि तपाईंको घरमा वाई-फाई छ । र, त्यहाँ कोही आयो भने नमस्कार गरि सकेपछि वाई-फाईको पासवर्ड मागिहाल्छन् । किनभने अहिलर इन्टरनेट र फोन अत्यावश्यकका वस्तु भएका छन् ।
तपाईंले घरमा आएका जोकोहीलाई मुख्य वाई-फाईको पासवर्ड दिनुअघि त्यसमा हुने जोखिम याद गरि गेस्ट वाई-फाई (छुट्टै वाई-फाई जसलाई केही समयमा नै डिलिट गर्न सकियोस्) को पासवर्ड दिनुपर्ने हुन्छ ।
यसको अर्थ तपाईंले आफ्ना पाहुनालाई घरको मुख्य वाई-फाईको पासवर्ड पाउनासाथ ह्याकिङ हुन्छ भन्ने हुँदैन । उनीहरूले कस्ता फाइल डाउनलोड गर्छन र ती कुराले उनीहरूको व्यक्तिगत विवरण लिन्छन् वा लिँदैनन् भन्ने कुरा महत्त्वपूर्ण हुने गर्छ ।
उनीहरूले भाइरस वा मालवेयर भएका फाइल डाउनलोड गरेका रहेछन् भने त्यसले तपाईंको वाई-फाई नेटवर्कलाई पनि प्रभाव पार्छ । त्यसैले तपाईंले अन्य व्यक्तिलाई गेस्ट वाई-फाई बनाएर त्यसैको पासवर्ड शेयर गर्न सक्नुहुन्छ ।
भीपीएन प्रयोग गर्नुहोस्
राम्रा भीपीएन प्रयोग गर्नुपर्ने धेरै कारण छन् । राम्रो भीपीएनले तपाईंको सुरक्षालाई पनि उत्तिकै मध्यनजर गरेको हुन्छ । भीपीएन अर्थात् भर्चुअल प्राइभेट नेटवर्कले तपाईंको आईपी एड्रेस, र वाई-फाई गतिविधिलाई लुकाउनुका साथसाथै ब्राउजिङ गरेका डेटालाई पनि लुकाउने गर्छ ।
भीपीएन कुनै पनि सार्वजनिक वाई-फाईसँग कनेक्ट भएको बेला निकै उपयोगी हुन्छन् । यसले तपाईंका हरेक डेटालाई सुरक्षित बनाउनुका साथसाथै तपाईंको वाई-फाईको गोपनियतालाई पनि उत्तिकै बचाएको हुन्छ ।
केही भीपीएनका लागि तपाईंले शुल्क तिर्न पर्ने हुन्छ भने केही निःशुल्क प्रयोग गर्न सक्नुहुन्छ ।
राउटर र डिभाइस अपडेट गरिरहनुहोस्
तपाईंले कुनै पनि डिभाइसमा इन्टरनेट कनेक्ट गर्नुभयो भने त्यसमा सफ्टवेयर अपडेटको नोटिफिकेसन देखिरहनु भएको हुन्छ होला । तपाईंले आफ्नो डिभाइसमा आउने सफ्टवेयर अपडेटको नोटिफिकेसन हेरि अपडेट गरिरहनु आवश्यक हुन्छ ।
सफ्टवेयर अपडेट गर्दा पहिले डिभाइसमा भएका समस्याका समाधान हुनुका साथसाथै सुरक्षाका दृष्टिकोणले पनि उत्तिकै आवश्यक हुन्छ ।
राउर र त्यसमा कनेक्ट भएका डिभाइस अपडेट गरिरहनु विभिन्न कारणले महत्त्वपूर्ण मानिन्छ । तपाईंले राउटरलाई एड्मिन सेटिङमा गएर अटो अपडेट अन गर्न सक्नुहुन्छ ।
रिमोट राउटर एक्सेस बन्द गर्नुहोस् ।
रिमोट राउटर एक्सेस अन गर्दा जोकोहीले पनि तपाईंको वाई-फाईमा सहजै पहुँच पाउँछन् । अत्यावश्यक अवस्थामा रिमोट एक्सेस अफ गर्न सक्नुहुन्छ । रिमोट राउटर एक्सेस डिफल्ट रूपमा डिसेबल नभएको हुन सक्छ । त्यसैले पनि तपाईंले रिमोट एक्सेस अफ छ वा छैन भन्ने कुरा सुनिश्चित गर्न पर्ने हुन्छ ।
कनेक्ट भएका डिभाइस भेरिफाई गरिरहनुहोस्
तपाईंको वाई-फाई नेटवर्कमा जडान भएका डिभाइसलाई बेला बेलामा निरीक्षण गरिरहनु पर्छ । यदि कुनै पनि डिभाइसमा भाइरस देखियो वा त्यसले वाई-फाईलाई प्रभावित पार्ने केही पत्ता लागेको खण्डमा त्यसलाई वाई-फाईबाट डिस्कनेक्ट गरेर आफ्नो वाई-फाईको पासवर्ड परिवर्तन गर्नुहोस् ।
तपाईंले पासवर्ड परिवर्तन गरिसकेपछि पहिले कनेक्ट भएका डिभाइसमा पुनः पासवर्ड प्रयोग गरी कनेक्ट गर्नु पर्ने हुन्छ । यसो गर्दा तपाईंको वाई-फाईमा अनाधिकारिक रूपमा कनेक्ट भएका डिभाइस स्वतः हट्छन् । यसले सुरक्षाका दृष्टिकोणमा निकै टेवा पुर्याउँछ ।
तपाईंको वाई-फाई नेटवर्कमा कुन कुन डिभाइस कनेक्ट भएका छन् भन्ने कुरा तपाईंले वाई-फाईको सेटिङमा गएर हेर्न सक्नुहुन्छ । यदि त्यसमा कुनै पनि अन्जान डिभाइस कनेक्ट भएका छन् भने त्यस्ता डिभाइसलाई तुरुन्तै डिस्कनेक्ट गरिहाल्नुहोस् ।
डब्लूपीए थ्री राउटरमा अपग्रेड गर्नुहोस्
डब्लूपीए थ्री (WPA3) हालसालै आएको राउटरको सेक्युरिटी प्रोटोकल हो । अहिले आउने प्रायः राउटरहरूमा डब्लूपीए थ्री जोडिएरै आइका हुन्छन् । यदि तपाईं नयाँ राउटर लिँदै हुनुहुन्छ भने त्यसमा डब्लूपीए थ्री भएको सुनिश्चित गरेर किन्नुहोस् ।
यदि तपाईंसँग पुरानो राउटर छ जहाँ डब्लूपीए टु वा त्यसभन्दा कमको सेक्युरिटी प्रोटोकल छ भने तपाईंले त्यसलाई डब्लूपीए थ्रीमा अपग्रेड गर्न सक्नुहुन्छ ।
यदि तपाईंको राउटर २०१८ भन्दा अघि बनेको हो भने त्यसमा डब्लूपीए टु डिभाइस हुनसक्छ, जसलाई नयाँ डब्लूपीए थ्रीमा अपग्रेड गर्न सकिन्छ । तपाईंले आफ्नो सेवा प्रदायकलाई सम्पर्क गरेर वा ब्राउजरमा डिभाइस मोडल खोजेर आफ्नो राउटरको मोडल थाहा पाउन सक्नुहुन्छ ।