close

अब वेबसाइटबाटै निःशुल्क फोटोशप चलाउन सकिने

टेकपाना टेकपाना

असार १, २०७९ १३:२१

अब वेबसाइटबाटै निःशुल्क फोटोशप चलाउन सकिने

काठमाडौं । एडोबीले फोटोशपको वेब संस्करण निःशुल्क उपलब्ध गराउने भएकाे छ । फोटोशपलाई सबै प्रयोगकर्तामाझ परिचित बनाउने उद्देश्यले एडोबीले फोटोशपको निःशुल्क वेब संस्करण ल्याउन लागेको हो ।

हाल कम्पनीले यो सेवा क्यानडामा परीक्षण गरिरहेको छ, जसमा प्रयाेगकर्ताले एडोबी अकाउन्ट प्रयोग गरी एक्सेस पाउन सक्छन् ।

एडोबीले यो सेवालाई ‘फ्रिमियम सर्भिस’ अर्थात् निःशुल्क सेवाका रूपमा परिभाषित गरेको छ । त्यस्तै केही आकर्षक फिचरहरूका लागि कम्पनीले प्रिमियम सेवा पनि समावेश गर्ने योजना बनाएको छ ।

फोटोशप सफ्टवेयरमा उपलब्ध हुने सम्पूर्ण टुल भने प्रयोगकर्ताले वेबसाइटमा निःशुल्क प्रयोग गर्न सक्नेछन् ।

‘हामी फोटोशपलाई धेरै मानिसमाझ पहुँचसम्म पुगोस् र यसलाई सहजै प्रयोग गर्न सकुन् भन्ने चाहन्छौं,’ एडोबीकी डिजिटल इमेजिङ उपप्रमुख मारिया यापले भनिन् ।

एडोबीले पहिलो पटक फोटोशपको वेब संस्करण २०२१ को अक्टोबरमा सार्वजनिक गरेको थियो, जसका माध्यमबाट सामान्य एडिट गर्न सकिन्छ ।

एडोबीले त्यसैलाई परिमार्जन गर्दै अहिले सफ्टवेयरकै फिचरहरू वेबमा समावेश गर्ने योजना ल्याएकाे छ ।

पहिले प्रयोगकर्ताले डेस्कटप एपबाट वेबमा डकुमेन्ट शेयर गर्नुपर्थ्यो भने अब एडोबीको वेबसाइटमा गई लगईन गरेर सोझै वेबबाट नयाँ डकुमेन्ट सुरु गर्न सकिने छ ।

एडोबीको लक्ष्य भनेको फोटोशपको वेब संस्करण प्रयोग गरी एपलाई थप पहुँचयोग्य बनाउनु हो, जसले भविष्यमा फुल संस्करणका लागि भुक्तानी दिन चाहने प्रयोगकर्तालाई थप फिचरहरू उपलब्ध गराउन सहयोग गर्छ ।

कम्पनीले मानिसहरूको आवश्यकतालाई मध्यनजर गर्दै फ्रेस्को र एक्सपेस जस्ता मोबाइल एप पनि ल्याएको छ । जसका माध्यमबाट निःशुल्क केही आधारभूत फिचर प्रयोग गर्न सकिन्छ भने प्रिमियममा थप फिचरहरू समावेश छन् ।

एडोबीले उपलब्ध गराउने फोटोशपको वेब संस्करणले त्यस्तै सेवा उपलब्ध गराउने छ जुन कम्पनीले सुरुवातीतिर स्कुलमा बढी प्रयोग हुने क्रोमबुक मार्फत उपलब्ध गराएको थियो ।

फोटोशपको वेब संस्करण प्रयोग गर्न उच्च गुणस्तरको डिभाइस आवश्यक नपर्ने हुँदा यसमा धेरै प्रयोगकर्ता जोडिने मारियाको भनाइ छ । एडोबीले निःशुल्क उपलब्ध गराउने फोटोशपको वेब संस्करणमा भने टाइमलाइन उपलब्ध हुने छैन ।

अहिले भने वेब संस्करणको पोटोशपलाई धेरै टुल जस्तै रिफाइन इज, कर्भ्स, डगी एण्ड बर्न टुल, स्मार्ट अब्जेक्टमा कन्भर्ट गर्ने टुल अपडेट गरिरहेको छ ।

एडोबीले नयाँ एआई-संचालित न्यूरल फिल्टरको पूर्वावलोकन पनि गरेको जुन फोटोशपमा आउँदैछ । नयाँ ‘फोटो रेस्टोरेसन’ फिल्टरले बिग्रेको तस्वीर लाई स्वचालित रूपमा स्क्र्याचहरू सफा गर्छ ।

साथै यसले कुनै फोटोबाट हराएको केही रङ पुनर्स्थापित गर्नसक्ने पनि कम्पनीले बताएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३