ट्वीटरका कर्मचारीलाई सम्बोधन गर्दै मस्कले भनेः कम्पनी विच्याट र टिकटकजस्तै बनोस् भन्ने चाहन्छु
असार ३, २०७९ १३:५१
काठमाडौं । एलन मस्कले बिहीबार ट्वीटरका कर्मचारीहरूलाई सम्बोधन गर्दै एक अर्ब प्रयोगकर्ता पुर्याउने आफ्नो लक्ष्य प्राप्तिका लागि कम्पनी विच्याट र टिकटक जस्तै बनोस भन्ने चाहेको बताएका छन् । ट्वीटर प्रयोगकर्ताको आधार र इंगेजमेन्ट कसरी बढाउन सकिन्छ भन्ने प्रश्नमा मस्कले भनेका छन् कि एपमा थप ‘युटिलिटी’ उपलब्ध गराउनुपर्ने ता कि मानिसहरूले बढीभन्दा बढी मनोरञ्जन र सूचित हुने मौका पाउन सकून् ।
त्यसक्रममा उनले चीनमा लोकप्रिय एप विच्याटको उदाहरण दिए, जसले भुक्तानी, गेम, राइड शेयरिङलाई समेत सामाजिक सञ्जालमा मिसाएको छ ।
“चीन बाहिर विच्याट समानको विकल्प छैन,” आफ्नो फोनको क्यामेराबाट भर्चुअल मिटिङलाई सम्बोधन गर्दै मस्कले भनेका छन्, “तपाईँ चीनमा हुँदा विच्याटबाटै लाइभ गर्न सक्नुहुन्छ । यदि हामीले ट्वीटरलाई नै त्यस्तो बनाउन सक्ने हो भने, हाम्रा लागि निकै ठूलो सफलता हुनेछ ।”
यति मात्र होइन, उनले दिक्क नलाग्ने किसिमको टिकटको एल्गोरिदमको समेत चर्चा गर्दै भने, “हामीले ट्वीटरमा त्यसैलाई नयाँ किसिमले राख्न सक्यौँ भने रोचक हुनेछ ।” मस्कले गम्भिर विषयमा मानिसहरूलाई सूचित गर्ने विषयमा ट्वीटर उत्कृष्ट सावित हुनसक्ने कुरामा जोड दिए ।
कलको दौरान उनले ट्वीटरको झुकाव सब्सक्रिप्सन र भुक्तानी प्रति केन्द्रित हुनुपर्ने सल्लाह दिँदै प्रयोगकर्ताले भेरिफाइड हुनको लागि शुल्क तिर्नुपर्ने व्यवस्था गर्न सकिने बताए ।
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३
