काठमाडौं । बिटक्वाइनको मूल्य १९ हजार डलरभन्दा तल झरेको छ । सन् २०२० को डिसेम्बरपछि बिटक्वाइनको मूल्य पहिलो पटक १९ हजार डलरभन्दा तल झरेको छ ।
११ प्रतिशतले घटेर बिटक्वाइनको मूल्य १८ हजार ३३४ डलर (२२ लाख ८५ हजार रुपैयाँ) पुगेको छ । लगातार घटिरहेको क्रिप्टो बजार शनिबार पनि घट्दा बिटक्वाइनको मूल्य ११ प्रतिशतले घटेको हो ।
यसैगरी इथरको मूल्य १३ प्रतिशतले घटेर ९५१ डलर (एक लाख १८ हजार रुपैयाँ) पुगेको छ । गत नोभेम्बरको मूल्यको तुलनामा यी दुवै क्रिप्टोको मूल्य ७० प्रतिशतभन्दा बढीले घटेको छ ।
त्यसैगरी कार्डोना, सोलना, डजकोइन र पोल्काडट लगायतका क्रिप्टो पनि नाैदेखि १२ प्रतिशतसम्म घटेको छ ।
गत महिना क्र्याश भएको स्टेबल कोइनको टेरा ब्लकचेन र यही हप्तादेखि विथड्र बन्द गरेका सेल्सियस नेटवर्क कम्पनीहरूको यस्तो कदमले गर्दा पनि क्रिप्टो बजार थप धाराशायी हुँदै गइरहेको छ ।
बढ्दो मूल्यवृद्धिका कारण अमेरिकाको केन्द्रीय बैंकले ब्याजदर बढाएको थियो । यसले गर्दा शेयर लगानीकर्ताले आफ्नो लगानी जोखिमपूर्ण क्षेत्रबाट झिकेर अन्तै सार्न सुरु गरे । फलस्वरुप विश्वभरको शेयर बजारमा प्रभाव परेको थियो ।