close

नक्षत्र जुराएर प्रेमी/प्रेमिका रोज्न मिल्ने एप सार्वजनिक

टेकपाना टेकपाना

असार १०, २०७९ १७:४०

नक्षत्र जुराएर प्रेमी/प्रेमिका रोज्न मिल्ने एप सार्वजनिक

काठमाडौं । आफ्नो लागि उपयुक्त ‘डेटिङ पार्टनर’को खोजीमा रहेका व्यक्तिलाई लक्षित गर्दै नेपालमा एस्ट्रोपड डेटिङ एप सार्वजनिक भएको छ । विदेशमा सफल परीक्षण भइसकेको उक्त एप नेपाली युवाको समूहले निर्माण गरेको हो ।

शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै उक्त एप अब नेपालमा पनि प्रयोग गर्न सकिने गरी सार्वजनिक गरिएको हो ।

एपमा आफ्नो जन्ममिति, नाम र रुचिसहितका विवरण राखेपछि त्यससँग मेल खाने पार्टनर खोज्न सकिने यसका संस्थापक परिवेश कोइरालाले जानकारी दिए ।

एपले प्राप्त विवरणका आधारमा त्यसलाई ज्योतिषशास्त्र प्रयोग गरेर उपयुक्त पार्टनर खोज्न सहयोग पुग्ने उनको भनाइ छ । ‘एपमा समावेश सातओटा ज्योतिषीय सुत्रका आधारमा सही पार्टनर खोज्न सकिन्छ,’ उनले भने ।

यो एप तत्कालका लागि नेपालीले निःशुल्क प्रयोग गर्न सक्नेछन् । छिट्टै नै भुक्तानी प्रणालीसँग आबद्ध भएर एपका थप सुविधा प्रयोग गर्नसक्ने तयारी भइरहेको कोइरालाले जानकारी दिए ।

डेटिङ पार्टनर खोज्ने विश्वका विभिन्न अनलाइन प्लेटफर्मको तुलनामा याे एप नितान्त फरक भएको यसका अर्का संस्थापक समुद्र घिमिरे बताउँछन् ।

ज्योतिष विज्ञानको प्रयोग गरेर उपयुक्त पार्टनर खोजिदिने अर्को एप सञ्चालनमा नरहेको उनकाे भनाइ छ ।

एपले प्रयोगकर्ताको डेटा एकदमै सुरक्षित राख्ने र प्रयोगकर्ता आफैंले आफ्नो डेटा राख्न वा मेटाउनसक्ने सुविधा दिएको घिमिरेले बताए ।

त्यस्तै गलत डेटा राखेर खराब गतिविधि गर्ने नियतका प्रयोगकर्तालाई ब्लक गरिने उनले बताए ।

एन्ड्रोइड प्रयोगकर्ताले एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३