close

फोटोमा भएको डेटा अब सोझै माइक्रोसफ्ट एक्सेलमा सार्न सकिने

टेकपाना टेकपाना

असार १३, २०७९ १२:४३

फोटोमा भएको डेटा अब सोझै माइक्रोसफ्ट एक्सेलमा सार्न सकिने

काठमाडौं । अहिले प्रायः एप्लिकेसनले फोटो वा कागजातबाट स्क्यान गरिएका डेटा ‘अफ्टिकल क्यारेक्टर रिक्जिनेसन टुल’ प्रयोग गरी अक्षरमा उतार्न सक्छन् । अब यही सुविधा माइक्रोसफ्टको एक्सेलमा समेत उपलब्ध हुने भएको हो ।

म्याक, आईफोन र एन्ड्रोइड एपहरूमा माइक्रोसफ्ट एक्सेलका लागि ‘डेटा फ्रम पिक्चर’ फिचर समावेश गरिएको छ । जसको माध्यमबाट कुनै पनि डकुमेन्टलाई स्क्यान गरी त्यसमा भएको डेटा एक्सेल शिटमा राख्न सकिन्छ । तर यो सुविधा आजको दिनसम्म विन्डोज कम्प्युटरको एक्सेलमा भने उपलब्ध छैन ।

हाल माइक्रोसफ्टले विन्डोज एक्सेलमा ‘डेटा फ्रम पिक्चर’ फिचर परीक्षण गरिरहेको छ । ‘रिबन बार’को डेटा ट्याबमा क्लिक गरेर यो फिचर प्रयोग गर्न सकिनेछ । त्यसपछि रिबन बारमा भएको ‘फ्रम पिक्चर’ मा क्लिक गर्नुपर्ने हुन्छ । 

त्यसपछि लोकल फाइलबाट वा क्लिपबोर्डमा भएका डकुमेन्ट ‘इम्पोर्ट’ गर्न सकिनेछ । तर यसमा कुनै पनि नयाँ फोटोलाई लिएर तुरुन्तै स्क्यान गर्न मिल्ने फिचर भने समावेश हुने छैन (उदाहरणका लागि कम्प्युटरको क्यामेराबाट तुरुन्तै स्क्यान गर्ने)।

एक पटक तपाईंले इमेज इम्पोर्ट गर्नुभयो बने एक्सेलले त्यसलाई विश्लेषण गरेर उपयुक्त तरिकाले डेटालाई एरेन्ज गरेर राख्छ । त्यसपछि तपाईँले त्यहाँ भएका डेटा ठीक छन् वा छैनन् भन्ने कुरा इमेजलाई एक्सेलको डेटासँग तुलना गरेर हेर्न सक्नु हुनेछ ।

माइक्रोसफ्टका अनुसार ‘डेटा फ्रम पिक्चर’ फिचरले अङ्ग्रेजी, बोस्नियन, डच, क्रोसियन, डेनिश, फ्रेन्च, फिन्निश, इटालियन, नर्वेजियन, हङ्गेरियन, जर्मनी, पर्चुगिज, स्पेनिश, टर्किश, पोलिश, रोमानियन, सेर्बियन, स्लोभाक, स्विडिश, सेर्विन आदि भाषालाई सपोर्ट गर्नेछ ।

नेपाली, हिन्दी वा चिनियाँ जस्ता भाषामा कहिलेसम्म सपोर्ट प्राप्त हुन्छ भन्ने कुरा कम्पनीले खुलाएको छैन । यो परीक्षणकै चरणमा भएकाले छिट्टै सार्वजनिक हुने अपेक्षा गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३