close

४९ लाखले आवेदन दिँदा ८५ हजारले मात्रै पाए राष्ट्रिय परिचयपत्र, सेवा सुधार गर्न महालेखाको सुझाव

टेकपाना टेकपाना

असार २९, २०७९ १६:५४

४९ लाखले आवेदन दिँदा ८५ हजारले मात्रै पाए राष्ट्रिय परिचयपत्र, सेवा सुधार गर्न महालेखाको सुझाव

काठमाडौं । महालेखा नियन्त्रक कार्यालयले राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागलाई राष्ट्रिय परिचयपत्र वितरणको सेवामा सुधार गर्न सुझाव दिएको छ । कार्यालयले बुधबार सार्वजनिक गरेको ५९औँ वार्षिक प्रतिवेदनले सेवा सुधार गर्नु पर्ने औंल्याएको हो ।

प्रतिवेदन अनुसार विभागले हालसम्म आवेदनको १.७३ प्रतिशत सेवाग्राहीलाई मात्रै परिचयपत्र वितरण गरेको छ । २०७६ साउनको ३१ गते देखि २०७८ पुसको १९ गते सम्म ४९ लाख १५ हजार ५७२ जनाले राष्ट्रिय परिचयपत्रको लागि आवेदन दर्ता गरेका थिए । यद्यपि सो अवधिभर विभागले जम्मा ८५ हजार २२८ जनालाई मात्र परिचयपत्र वितरण गरेको प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै हाल सम्म १ लाख १४ हजार ८०४ वटा मात्र कार्ड छापिएको उल्लेख गरिएको छ। यो अवधिभर परिचयपत्रका लागि २ अर्ब ४० करोड रुपैयाँ खर्च भइसकेको छ । तर खर्च भए अनुसारको काम नभएको हुँदा कार्यालयले सेवा सुधार गर्न सुझाव दिएको हो ।

‘परिचयपत्रलाई विद्युतीय राहदानीसँग अन्तरआबद्धता गरेकोले परिचयपत्र नम्बर प्राप्त नभएसम्म राहदानीको लागि निवेदन दिन नमिल्ने हुँदा परिचयपत्रको लागि सेवाग्राहीको चाप बढेको छ । निकायले आफ्नो जिम्मेवारी पूरा गर्न वार्षिक लक्ष्य अनुसारका कार्य सम्पादन गरी सेवा प्रवाहमा सुधार गर्नुपर्दछ’, प्रतिवेदनमा उल्लेख छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३