close

कहिले आउला सीजीनेटको आईपीटिभी ?

टेकपाना टेकपाना

असार २९, २०७९ १७:३५

कहिले आउला सीजीनेटको आईपीटिभी ?

काठमाडौं । सस्तो मूल्यमा उच्च गतिको इन्टरनेट सहित नेपाली बजारमा प्रवेश गरेको सीजीनेटले अहिलेसम्म इन्टरनेट मात्रको प्याकेज उपलब्ध गराउँदै आएको छ । सेवा सञ्चालनमा ल्याएको एक वर्ष बितिसक्दा पनि कम्पनीले आईपीटिभी सेवा दिन सकेको छैन ।

आखिर सीजीनेटको आईपीटिभी कहिले आउला त ? हामीले यो प्रश्न कम्पनीका प्रमुख सञ्चालन अधिकृत (सीओओ) ब्रम्हानन्द ठाकुरलाई सोधेका छौँ । टेकपानासँगको अन्तर्वार्ताका क्रममा उनले ग्राहकलाई अब चाँडै नै आईपीटिभी सेवा समेत उपलब्ध गराउने बताएका छन् ।

“साउन भदौ सम्ममा हामीले आईपीटिभी सेवा सार्वजनिक गर्ने कार्ययोजना छ,” उनले भनेका छन्, “पहिले पहुँच विस्तारमा जोड दिने र त्यसपछि आईपीटिभी सहित आवश्यक कन्टेन्ट उपलब्ध गराउने रणनीति अनुरूप नै हामीले काम गरिरहेका छौँ ।”

आईपीटिभीका लागि नेपालभित्रकै एक कम्पनीसँग सहकार्य गरिएको बताए पनि उनले उक्त कम्पनीको नाम भन खुलाउन चाहेनन् ।

“हामीले अर्को कम्पनीसँगको सहकार्यमा आईपीटिभी सार्वजनिक गर्ने तयारीसँगसँगै साइडबाइ साइड आफ्नै प्लेटफर्म पनि बनाइरहेका छौँ,” उनी भन्छन्, “इन्टरनेटसँगै टिभी मात्रै नभएर अरु केके सेवा दिन सकिन्छ भन्नेमा पनि हाम्रो गृहकार्य भइरहेको छ ।”

आईपीटिभीबाट लाइभ टेलिभिजन दिने अभ्यास पुरानो भइसकेको उल्लेख गर्दै सोझै मोबाइलमै हेर्न सकिने गरी कन्टेन्ट उपलब्ध गराउने योजनामा आफूहरू रहेको बताए ।

त्यसमा कुनकुन सामग्री हुनसक्छन् भन्ने विषयमा भने उनले स्पष्ट रूपमा खुलाउन चाहेनन् । ठाकुरसँगको विस्तृत अन्तर्वार्ता तपाईँले चाँडै नै टेकपानामा पढ्न र हेर्न सक्नुहुनेछ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३