close

किनेको १ वर्षमै बिग्रिए स्मार्ट लाइसेन्स छाप्ने ३ करोडका प्रिन्टर, वारेन्टी छँदा पनि बनेनन्

टेकपाना टेकपाना

असार ३०, २०७९ १०:३०

किनेको १ वर्षमै बिग्रिए स्मार्ट लाइसेन्स छाप्ने ३ करोडका प्रिन्टर, वारेन्टी छँदा पनि बनेनन्

काठमाडौं । स्मार्ट लाइसेन्स प्रिन्ट गर्न खरिद गरिएका चार थान स्मार्ट कार्ड प्रिन्टर सन् २०२० देखि नै बिग्रिएको पाइएको छ । महालेखा परीक्षकको ५९ औँ प्रतिवेदनले बिग्रिएका प्रिन्टर वारेन्टी अवधि बाँकी छँदा समेत मर्मत नगरिएको उल्लेख गरेको छ ।

पछिल्लो समयमा मास प्रिन्टरले मात्रै स्मार्ट लाइसेन्स छपाईको काम गर्दै आएको छ । उक्त प्रिन्टरको कार्ड छपाई क्षमता दैनिक ४५० थान थान मात्र रहेको छ ।

एउटै मसिनले बजारको माग धान्न नसक्दा सेवाग्राहीले ट्रायल परीक्षा उत्तीर्ण गरेको महिनौँसम्म पनि स्मार्ट लाइसेन्स पाउन सकिरहेका छैनन् । यातायात व्यवस्था विभागले १५ अक्टोबर २०१७ मा एक कम्पनीसँग दुई लाख ४४ हजार अमेरिकी डलरमा (तीन करोड रुपैयाँभन्दा बढी) चार थान स्मार्ट कार्ड प्रिन्टर खरिद गरेको थियो ।

२४ फेब्रुअरी, २०१९ मा जारी गरेको स्वीकार्य प्रमाणपत्रमा वारेन्टी अवधि ३ वर्ष उल्लेख छ । साथै प्राविधिक स्पेसिफिकेसनमा समेत वारेन्टी अवधि ३ वर्ष रहेको उल्लेख गरी खरिद सम्झौता भएको देखिन्छ ।

यस आधारमा कम्पनीले २४ फेब्रुअरी २०२२ सम्म ती प्रिन्टिङ मसिन बिग्रिएको खण्डमा बनाइदिनुपर्ने हो । तर ती चारै थान प्रिन्टर सन् २०२० देखि नै बिग्रिएर थन्किएको र आपूर्तिकर्ता कम्पनीले वारेन्टी अवधिमा मर्मत नगरिदिएको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

खरिद सम्झौताको विशेष शर्तमा स्मार्ट कार्ड प्रिन्टरको १० प्रतिशत भुक्तानी वारेन्टी अवधि सकिए पश्चात्‌ मात्रै गर्ने उल्लेख छ । त्यस अनुसार हुन आउने २४ हजार ४०० अमेरिकी डलर अर्थात २९ लाख ३२ हजार रुपैयाँ उक्त कम्पनीलाई भुक्तानी गर्न नमिल्ने प्रतिवेदनले स्पष्ट पारेको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३