close

टिकटकका प्रमुख सुरक्षा अधिकृतले दिए राजीनामा 

टेकपाना टेकपाना

असार ३२, २०७९ २०:२८

टिकटकका प्रमुख सुरक्षा अधिकृतले दिए राजीनामा 

काठमाडौं । अमेरिकी प्रयोगकर्ताको डेटा सुरक्षासम्बन्धी विवाद चलिरहँदा टिकटकका सेक्युरिटी चिफ (सुरक्षा प्रमुख) रोलान्ड क्लउटियरले राजीनामा दिएका छन् ।

आउँदो सेप्टेम्बर महिनादेखि लागू हुने गरी रोलान्डले आफ्नो पदबाट राजीनामा दिएका हुन् । उनको स्थानमा किम अल्बारेलाले काम गर्ने कम्पनीले जनाएको छ ।

एक विज्ञप्ति जारी गर्दै कम्पनीले राेलान्डले राजीनामा दिएको र सेप्टेम्बरबाट नयाँ प्रमुखले जिम्मेवारी सम्हाल्ने जानकारी दिएको हो । यसका साथै रोलान्डले टिकटकको सुरक्षा र विश्वसनीय कार्यक्रमहरूको व्यापारिक प्रभावमा ध्यान केन्द्रित गर्न कम्पनीमा सल्लाहकारको भूमिका खेल्ने बताइएको छ ।

पछिल्लो समयमा छोटो भिडिओको लागि लोकप्रिय प्लेटफर्म टिकटकको अभिभावक कम्पनी बाइटडान्सले अमेरिकी अधिकारीहरूबाट बढ्दो छानबिनको सामना गरिरहेको छ ।

अमेरिकाले टिकटकमा प्रयोगकर्ताको डेटा सुरक्षित नभएको आरोप लगाएको छ । यो घटनासँग रोलान्डको राजीनामा कतिको जोडिएको छ भन्ने विषयमा आधिकारिक रुपमा कुनै जानकारी आएको छैन ।

कम्पनीले जारी गरेको विज्ञप्तिमा भने सुरक्षा प्रमुखको राजीनामा, नयाँ प्रमुखको नियुक्तिसँगै कम्पनीले अमेरिकी प्रयोगकर्ताको डेटा व्यवस्थापन गर्न नयाँ विभागको निर्माणसहित सुरक्षा प्रत्याभूतका लागि आवश्यक कामहरू अगाडि बढिरहेको उल्लेख गरिएको छ । 

कम्पनीले अमेरिका-आधारित प्रयोगकर्ताहरूका लागि डेटा सुरक्षालाई बलियो बनाउन ‘प्रोजेक्ट टेक्सास’ नामक कार्यक्रममा काम गरिरहेको उल्लेख गर्दै अमेरिकाका नीति निर्मातालाई आश्वासन पनि दिएको छ  ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३