close

निरन्तर बजार गुमाउँदै नेटफ्लिक्स, ३ महिनामै थप १० लाख प्रयोगकर्ता घटे

टेकपाना टेकपाना

साउन ४, २०७९ १३:९

निरन्तर बजार गुमाउँदै नेटफ्लिक्स, ३ महिनामै थप १० लाख प्रयोगकर्ता घटे

काठमाडौं । नेटफ्लिक्सले सन् २०२२ काे पहिलाे त्रैमासिक प्रतिवेदन सार्वजनिक गर्ने क्रममा आफूले याे दशककै धेरै ग्राहक गुमाएकाे तथ्य बाहिर ल्याएकाे थियाे । नेटफ्लिक्सका ग्राहक गुम्ने श्रंखला दाेस्राे त्रैमासिकमा पनि जारी छ ।

हालै सार्वजनिक प्रतिवेदन अनुसार नेटफ्लिक्सले अप्रिलदेखि जुन महिनाभित्र थप १० लाख ग्राहक गुमाएकाे छ । नेटफ्लिक्स छाेड्ने संख्या बढ्दै जाँदा कम्पनीले कर्मचारी कटाैतीसमेत गरिरहेकाे छ ।

यसरी नेटफ्लिक्स छाेड्ने प्रयाेगकर्तामध्ये संयुक्त राज्य अमेरिका र क्यानडाका धेरै छन् । युराेपेली देशका प्रयाेगकर्ताले पनि नेटफ्लिक्स छाेड्ने क्रम जारी छ ।

कम्पनीले केही हप्ताअघि माइक्रोसफ्टसँग सहकार्य गरेर एड-रेभेन्यु (विज्ञापनद्वारा आम्दानी गर्ने) मोडल ल्याउने तयारी गरेको थियो । सब्स्क्रिपसन प्लान सस्तो पार्न ल्याएको याे याेजनाबाट ग्राहक बढ्ने कम्पनीकाे विश्वास छ ।

त्यस्तै नेटफ्लिक्सले पहिले नै पासवर्ड शेयर गरेका सब्स्क्राइबरका लागि केही सीमित डिभाइसमा मात्र लगइन गर्नसक्ने व्यवस्था ल्याएको थियो, जसले गर्दा पनि सब्स्क्राइबरको संख्या घटेको रिपोर्टमा उल्लेख छ ।

नेटफ्लिक्सले सब्स्क्रिप्सन प्लान अन्तर्गतको शुल्क नतिरेका ग्राहकलाई लक गर्ने वा हटाउने योजना पनि बनाइरहेको छ ।

कम्पनीले आम्दानी बढेको प्रतिवेदन सार्वजनिक गरेपनि विभिन्न कारणले ग्राहक संख्या ह्वात्तै घट्नु नेटफ्लिक्सका लागि सुखद नहुनसक्छ ।

स्ट्रिमिङ इन्डस्ट्रीको दुनियाँमा डिज्नी प्लस, पारामाउन्ट प्लस, एडबीओ म्याक्सजस्ता कम्पनीहरू पनि उदाइरहेका छन् ।

गत त्रैमासिकमा मात्र पारामाउन्टका ग्राहक चार करोडले बढेका थिए । त्यस्तै एचबीओ म्याक्सका एक करोड ३० लाखले बढेका थिए भने डिज्नी प्लसका ग्राहक ८० लाखले बढेका थिए । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३