close

युट्यब र टिकटकमा चेतनामूलक भिडिओ बनाएर पुरस्कार जित्ने अवसर

टेकपाना टेकपाना

साउन ५, २०७९ १३:३४

युट्यब र टिकटकमा चेतनामूलक भिडिओ बनाएर पुरस्कार जित्ने अवसर

काठमाडौं । राष्ट्रिय युवा परिषद्ले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा युट्यबु तथा टिकटक भिडिओ प्रतियोगिता गर्ने भएको छ ।

विभिन्न सामाजिक चेतनामूलक शीर्षकहरूमा भिडिओमार्फत जनचेतना फैलाउने उद्देश्यसहित यो प्रतियोगिता सञ्चालन गर्न लागिएको हो ।

प्रतियोगिताका लागि आठ विभिन्न शीर्षक दिइएको छ ।

इच्छुक व्यक्तिहरूले आफ्नो टिकटक अकाउन्ट अथवा युट्यब च्यानलमा लागूपदार्थ दुर्व्यसन विरुद्ध युवा, लैङ्गिक तथा जातीय विभेद र छुवाछूत विरुद्ध युवा, धामी झाक्री बोक्सीजस्ता कुप्रथा विरुद्ध युवा, छाउपडी प्रथा, रजस्वला समयमा गरिने भेदभाव र छुवाछूत परम्परा विरुद्ध युवा विषयहरुमा भिडिओ बनाएर पोस्ट गर्न सक्नेछन् ।

साथै वन्यजन्तु तथा वातावरण संरक्षणमा युवा, स्वस्थ खाना अभियानमा युवा (जंक फुड विरुद्ध युवा), भ्रष्टाचार विरुद्ध तथा सुशासनको लागि युवा र युवा स्वरोजगार तथा उद्यमशीलता प्रवर्द्धनमा युवा विषयहरूमा टिकटक वा युट्युब भिडिओ बनाएर यस प्रतियोगितामा सहभागी हुन सकिन्छ ।

आफूले पोस्ट गरेको भिडिओ साउन १५ गतेपछि परिषद्को वेबसाइटमा आफ्नो विवरणसहित अपलोड गर्न सकिन्छ । यसरी अपलोड गरिएको भिडिओको सन्दर्भ, लाइक, शेयर लगायतका पक्षबाट मूल्याङ्कन गरी विजेता छनौट हुने परिषद्ले जनाएको छ ।

परिषद्ले जारी गरेको सूचनाअनुसार १६ देखि ४० वर्ष उमेरका व्यक्ति यो प्रतियोगितामा सहभागी हुन पाउनेछन् ।

अगस्ट ८ अर्थात् साउन २२ सम्म पोस्ट गरिएका भिडिओमात्र प्रतियोगिताको लागि मान्य हुनेछ । परिषद्का अनुसार टिकटक र युट्यबको फरक-फरक विजेता घोषणा गरिनेछ ।

टिकटकतर्फ प्रथम, दोस्रो तथा तेस्रो हुनेले क्रमश: ३० हजार, २० हजार र १५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् भने सान्त्वना स्वरूप एक जनाले १० हजार रुपैयाँ प्राप्ता गर्नेछ ।

यसैगरी युट्यबुतर्फ प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमश: ४० हजार, ३० हजार र २० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् भने सान्त्वना स्वरूप १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

टिकटकका लागि तीन मिनेटसम्मको र युट्यबुका लागि पाँच मिनेटसम्मको भिडिओलाई मात्र मान्यता दिइने जनाइएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३