close

चर्को दबाबपछि इम्बोस्ड नम्बर प्लेटमा नेपाली भाषा राख्ने तयारीमा सरकार

टेकपाना टेकपाना

साउन ८, २०७९ १९:८

चर्को दबाबपछि इम्बोस्ड नम्बर प्लेटमा नेपाली भाषा राख्ने तयारीमा सरकार

काठमाडौं । इम्बोस्ड नम्बर प्लेटमा देवनागरी लिपि प्रयोग नगरी अंग्रेजी भाषा राखिएको भन्दै चौतर्फी आलोचना हुनथालेको छ । जनस्तरबाट असन्तुष्टि व्यक्त हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारी नम्बर प्लेटमा देवनागरी लिपि समावेश गर्न अग्रसरता देखाएको हो । 

टेकपानासँगको कुराकानीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले मन्त्रलायले इम्बोस्ड प्लेटमा देवनागरी लिपि प्रयोग गर्न ऐनको अनुसूची हेरफेर गर्न शुक्रबार नै कानून न्याय तथा संसदीय मामिला मन्त्रालयमा राय माग गर्दै पत्राचार गरिएको  बताए । 

कानून मन्त्रालयले सहमती दिएको खण्डमा इम्बोस्ड नम्बर प्लेटमा देवनागरी लिपि प्रयोग गर्ने बाटो खुल्ने उनको भनाई थियो । “कानूनमा नै अंग्रेजी भाषा मात्र प्रयोग गर्ने भन्ने उल्लेख भएकाले त्यसलाई संसोधन गर्न कानून मन्त्रालयमा रायका लागि लेखी पठाएका हौँ,” उनले भने, “मेरो प्रयास कानूनी बाटो फुकाउने हो । कानून मन्त्रालयबाट सहमति पत्र आएपछि यो कुरालाई मन्त्रिपरिषद्‌बाट पास गराएर कार्यान्वयन तर्फ जाने छौँ ।”

यसका साथै मन्त्रालयले सवारी नम्बर प्लेटमा देवनागरी लिपिको प्रयोगको सम्भाव्यता बुझ्न ठेकेदार कम्पनी डेकाटुर टाइगरलाई पनि लिखित प्रतिवेदन माग गरिएको मन्त्री राईले बताए । ठेकेदारले पनि यसको सम्भाव्यताको लागि आन्तरिक तयारी थालेको उनको भनाई थियो । 

इम्बोस्ड नम्बर प्लेटमा देवनागरी लिपि मात्र प्रयोग गर्ने अथवा देवनागरी र अंग्रेजी दुवै समावेश गर्ने भन्ने विषयमा भने छलफलकै क्रममा रहेको भन्दै मन्त्री राईले इम्बोस्ड नम्बर प्लेटको लागतमा भने कुनै हेरफेर नहुने बताए । “हामी परियोजनाको लगायत बढाउने पक्षमा छैनौँ,” उनले भने, “सम्पूर्ण नेपालीले गर्व गर्नसक्ने विषय भएकाले नेपाली भाषालाई इम्बोस्ड नम्बर प्लेटमा समावेश गर्न खोजिएको हो।”

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३