close

एनआईसी एसिया बैंकमा अब सोझै मसिनबाट रकम जम्मा गर्न सकिने

टेकपाना टेकपाना

साउन १४, २०७९ ८:२४

एनआईसी एसिया बैंकमा अब सोझै मसिनबाट रकम जम्मा गर्न सकिने

काठमाडौं । एनआईसी एसिया बैंकले नगद रकम सोझै मसिनबाट जम्मा गर्न सकिने ‘क्यास डिपोजिट सेवा’ सञ्चालनमा ल्याएकाे छ । योसँगै ग्राहकले मसिनबाटै बैंकमा रहेको आफ्नो वा अरुको खातामा सोझै नगद रकम जम्मा गर्न सक्नेछन् ।

यसका लागि बैंकमा पुगेर कुनै भौतिक फारम भर्नुपर्नेजस्ता कुनै पनि झन्झट नहुने जनाइएको छ ।

यस मसिनबाट ग्राहकले एक हजार र पाँच सयका नोटहरू मात्र जम्मा गर्न मिल्ने व्यवस्था रहेको छ ।

यसअन्तर्गत एक जना ग्राहकले एक पटकमा अधिकतम ९९ हजार पाँच सय गरी दैनिक अधिकतम नाै लाख ९९ हजार पाँच सयसम्म नगद जम्मा गर्न जनाइएको छ । 

यो नयाँ सेवामार्फत नगद जम्मा गर्नका लागि सेवाग्राहीले मसिनमा रकम जम्मा गर्न चाहेको खाता नम्बर उल्लेख गरेपछि मोबाइल नम्बरमा ओटीपी प्राप्त गर्नेछन् ।

उक्त ओटीपी कोर्ड मसिनमा राखी भेरिफाई गरेपश्चात् रकम जम्मा गर्ने प्रक्रिया प्रारम्भ हुने बैंकले जनाएको छ ।

उक्त मसिनमा आफूले जम्मा गर्न चाहेको नगद रकम राखेपछि मसिनले सो रकम गनेर खातामा तत्काल सहज रुपमा जम्मा गरिदिने उल्लेख छ ।

त्यसरी जम्मा गरेको रकमको जानकारी एसएमएस तथा रिसिप्टमार्फत ग्राहकलाई उपलब्ध हुनेछ ।

बैंकले यो सेवा हालको लागि आफ्नो न्युरोड विशालबजार शाखामा सञ्चालन गरेको छ भने, विस्तारै अन्य शाखाहरूका समेत उपलब्ध गराउने जनाएको छ ।

यसले भाेलिका दिनमा नगद जम्मा गर्न भौतिक फारम भरी बैंकको काउन्टरमा लाइन लाग्नुपर्ने झन्झट अन्त्य हुने बैंकको विश्वास छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३