close

‘ट्वीटर ब्लु’को शुल्क बढ्यो, अब मासिक ५ डलर तिर्नुपर्ने

टेकपाना टेकपाना

साउन १४, २०७९ १९:४३

‘ट्वीटर ब्लु’को शुल्क बढ्यो, अब मासिक ५ डलर तिर्नुपर्ने

काठमाडौं । ट्वीटरले सब्स्क्रिप्सन भर्सन ‘ट्वीटर ब्लु’ को शुल्क बढाएको छ । गत वर्षदेखि विशेष फिचरसहित उपलब्ध भएको ट्वीटर ब्लुको मासिक शुल्क कम्पनीले ६६ प्रतिशतले वृद्धि गरेको हो ।

भेरिफाइड अकाउन्ट भएका ट्वीटर प्रयोगकर्ताले अन्य प्रयोगकर्ताले भन्दा थप विशेष फिचरहरू प्रयोग गर्न पाउनेगरी कम्पनीले गत वर्षदेखि ट्वीटर ब्लु सब्सक्रिप्सनको सुरुवात गरेको थियो ।

सुरुवातमा मासिक २.९९ डलर शुल्क भएको फिचरको रकम बढेर मासिक ४.९९ डलर पुगेको हो । यो एन्ड्रोइड प्रयोगकर्ताको लागि बढाइएको रकम हो । आईओएस प्रयोगकर्ताले भने पहिलेदेखि नै ४.९९ डलर भुक्तानी गर्दै आएका छन् ।

कम्पनीका अनुसार ट्वीटर ब्लुको सक्रिय प्रयोगकर्ताले पुरानो रकममा अक्टोबरसम्म मात्र यो फिचर प्रयोग गर्न पाउनेछन् भने नयाँ प्रयोगकर्ताले फिचर प्राप्त गर्न ४.९९ डलर नै भुक्तानी गर्नुपर्नेछ ।

शुल्क बढाउनुको कारण भने कम्पनीले खुलाएको छैन । ट्वीटर ब्लुका प्रयोगकर्ताले केही उपयोगी सुविधा प्रयोग गर्न सक्छन् । 

जस्तो कि भर्खरै पोस्ट गरेको ट्वीट हटाउन, इडिट गर्न तथा विज्ञापन बिनाका समाचारहरू ब्राउज गर्न र कम्पनीले परीक्षण गरिरहेको नयाँ फिचरहरू प्रयोग गर्न लगायतका सुविधाहरू छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३