close

फोहोरबाट मिथेन ग्यास उत्पादन

टेकपाना टेकपाना

साउन १७, २०७९ ८:३७

फोहोरबाट मिथेन ग्यास उत्पादन

दमक । झापाको दमकमा फोहोरबाट मिथेन ग्यास उत्पादन गरेर सफल परीक्षण भए पनि प्रयोगमा आउन सकेको छैन ।  यहाँ उत्पादन भएको ग्यास दमकको मुख्य बजार क्षेत्रमा पाइपलाइनबाट वितरण गर्ने भनिए पनि पाइपलाइन निर्माणलगायतका काम नहुँदा दैनिक ग्यास जलाएर नष्ट गरिँदै आएको छ ।

यो परियोजनाबाट दैनिक दुई हजार पाँच सयदेखि दुई हजार छ सय केजी ग्यास उत्पादन भइरहेको छ र यसलाई जलाएर उत्पादन क्षेत्रमा नै नष्ट गराइँदै आएको हो । विस्तृत परियोजना प्रतिवेदनअनुसार दमक बजार क्षेत्रमा पाइपलाइन निर्माण गरेर तीन हजार घरपरिवारमा ग्यास पाइपलाइन पुर्‍याउन सकिन्छ ।

दमक नगरपालिका क्षेत्रमा उत्पादन हुने फोहोर व्यवस्थापनको जिम्मा पाएको नेक्स्ट इरा इनर्जी प्रालिले फोहोरबाट ग्यास र प्राङ्गारिक मल एकैसाथ उत्पादन गर्न थालेको डेढ महिना भइसकेको छ ।

“फोहोरबाट ग्यास उत्पादन त सुरु भयो तर यसको बजारीकरणमा राज्यको सहयोग चाहिन्छ,” नेक्स्ट इराका अध्यक्ष युवराज घिमिरेले भने ।

मिथेन बायोग्यास उत्पादन सुरु भए पनि उत्पादन भएको ग्यासलाई प्रशोधन गरी पाइप वा सिलिन्डरबाट वितरण गर्ने योजना पूरा हुन नसकेको नेक्स्ट इरा इनर्जी प्रालिका निर्देशक विमल खतिवडाले बताए ।

“पाइपलाइन निर्माणका लागि आवश्यक बजेट सरकारसँग माग गरिरहेका छौँ र यो भएमा यो नमुना परियोजना बन्नेछ,” खतिवडाले भने ।

दमक नगरपालिकाका वातवरण तथा सरसफाइ शाखा प्रमुख द्रोण थापाका अनुसार दमक क्षेत्रमा दैनिक करिब २० टन फोहोर उत्पादन हुने गरेको छ । यसमध्ये १५ टन फोहोर सङ्कलन हुँदै छ । सङ्कलन भएको फोहोरमध्ये ६६ दशमलव ५२ प्रतिशत जैविक अर्थात् कुहिने फोहोर रहेको छ । यो जैविक फोहोरबाट ग्यास उत्पादन हुन्छ ।

दमक–२ मा हम्सेदुम्से सामुदायिक वन क्षेत्रभित्र संरचना निर्माण गर्न २० करोड ५८ लाख ९७ हजार रुपियाँ लागत लाग्ने अनुमान गरिए पनि कोरोना महामारीलगायतका कारण खर्च बढेको बताइएको छ ।

प्रारम्भिक लागतमा १४ करोड ७० लाख रुपियाँ नेक्स्ट इरा इनर्जी प्रालि र रोहन ट्रेडर्स प्रालि जेभीले र बाँकी पाँच करोड आठ लाख रुपियाँ वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको लगानी सम्झौता भएको थियो । 

सफल परियोजना

पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फोहोरबाट ग्यास उत्पादन भएको क्षेत्रको शुक्रबार अवलोकन गर्दै घरघरमा ग्यास पाइपलाइन पुर्‍याउने योजना सफल हुँदै जाने बताए ।

दमकमा सफल भएको यो परियोजनाले फोहोरको दिगो र दीर्घकालीन व्यवस्थापन गरी ग्यास उत्पादन गर्न सकिन्छ भन्ने देखाएको ओलीले बताउनुभयो ।

पूर्वप्रधानमन्त्री ओलीले ग्यास उत्पादनको निरीक्षणपछि भने, “फोहोर समस्या समाधान हुने र ग्यास पनि उत्पादन हुने यस प्रकारका योजनाको महत्त्व  आउँदा दिनमा अझ बढ्दै जानेछ । यो राज्यको काम हो तर स्थानीयस्तरमा निजी क्षेत्रले चासो दिएर यति ठूलो लगानी गर्नु खुसीको कुरा हो ।” 

गाेरखापत्रबाट

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३