close

थाहा पाइराख्नुहोस्, आवश्यकता अनुसार फोटोको साइज मिलाउने तरिका

टेकपाना टेकपाना

साउन १७, २०७९ १४:५५

थाहा पाइराख्नुहोस्, आवश्यकता अनुसार फोटोको साइज मिलाउने तरिका

काठमाडौं । प्रायः शैक्षिक प्रयोजनका लागि फारम भर्दा त्यहाँ अपलोड गरिने फोटो तथा डकुमेन्टको निश्चित आकार (उचाइ र चौडाइ) र फाइल साइज (फाइलको स्टोरेज) तोकिएको हुन्छ ।

यदि त्यसविपरीत हामीले फाइल वा आवश्यक डकुमेन्ट अपलोड गर्न लाग्यौं भने अपलोड नै हुँदैन । अपलोड भइहाले पनि त्यो फाराम रद्द हुने सम्भावना धेरै हुन्छ ।

सरकारी प्रयोजनका विभिन्न काम गर्दा आवश्यक डकुमेन्ट तथा फोटोको आकार र त्यसको फाइल साइज तोकिएको हुन्छ ।

यसरी आवश्यकता अनुसार डकुमेन्टको आकार र फाइल साइज मिलाउन नसक्दा हामीले विभिन्न समस्या भोगिरहेका हुन्छौं ।

आज हामी तोकिएकै आकार र फाइल साइज कसरी तयार पार्न सकिन्छ भन्ने विषयमा जानकारी दिन्छौं ।

फाइल साइज

फाइल साइज भन्नाले सामान्यतः फोटो, डकुमेन्ट, भिडिओ, पीडीएफ आदिले ओगट्ने स्टोरेजलाई भनिन्छ ।

हामीले आफ्नै तरिकाले खिचेका फोटो वा भिडिओको साइज प्रायः आवश्यकताभन्दा धेरै हुन्छ । जसले गर्दा ती फाइलले हाम्रो डिभाइसको स्टोरेज त ओगट्छन् नै, साथै कहिँ अपलोड गर्नुपर्दा धेरै समय लाग्नेगर्छ ।

हाम्रो मानसिकतामा फोटोको साइज धेरै भयो भने फोटोको गुणस्तर राम्रो हुन्छ भन्ने भ्रम छ । यो सिद्धान्त कतिपय अवस्थामा सही नै हुन्छ ।

कतिपय उच्च गुणस्तर (हाई क्वालिटी)का फोटोको फाइल साइज बढी हुनेगर्छ । त्यस्तै कतिपय अवस्थामा फाइल साइज सानो भएका फोटोको गुणस्तर राम्रो हुन्छ । आखिर फोटोको फाइल साइज कुन कुराले निर्देशन गरेको हुन्छ होला त ?

फोटोको गुणस्तरको कुरा गर्दा सबैभन्दा पहिले रेजोलुसनको कुरा आउने गर्छ । पिक्सेलमा मापन गरिने तस्वीरको साइजलाई वास्तवमा रेजोलुसन भन्ने गरिन्छ ।

तपाईंले फोटो रेजुलेसनको चौडाइ र उचाइलाई गुणन गर्नुभयो भने तस्वीरको पिक्सेल थाहा पाउन सक्नुहुन्छ । फोटोको क्वालिटी त्यसमा भण्डारण भएको कलर, श्याडो, कन्ट्रास्ट, पिक्सेल आदिमा भर पर्छ ।

यदि फोटोको फाइल साइज घटाउनुभयो भने त्यसको गुणस्तरमा केही परिवर्तन आउँछ । त्यसका लागि आफूलाई आवश्यक परेको कति र पहिले भएको डकुमेन्टको फाइल साइज कति भन्ने कुरा ख्याल गर्नुपर्छ ।

आवश्यकता अनुसार फोटोको फोटो साइज र फोटोको फाइल साइज विन्डोजको फोटोज एपबाट नै मिलाउन सकिन्छ । त्यसका लागि तलको प्रक्रिया अपनाउनुहोस् ।

विन्डोजमा फोटोको फाइल साइज र फोटो साइज मिलाउने तरिका

विन्डोजबाट आफूलाई आवश्यक परेको फोटोको साइज घटाउन तलको प्रक्रिया अपनाउनुहोस् ।

  • सबैभन्दा पहिले विन्डोज कम्प्युटरमा आफूले फाइल साइज घटाउन चाहेको फोटो छान्नुहोस् ।
  • त्यसलाई राइट क्लिक गरेर ओपन विथ (Open with) अप्सनमा क्लिक गर्नुहोस् ।
  • त्यसपछि ‘फोटोज’ अप्सन छान्नुहोस् ।
  • अब फोटो खुल्छ । फोटो खुलिसकेपछि माथि तीनवटा डटमा क्लिक गर्नुहोस् ।
  • त्यसपछि ‘रिसाइज’ अप्सनमा क्लिक गर्नुहोस् ।
  • त्यहाँ तल रहेको ‘डिफाइन कस्टम डाइमेन्सन’मा क्लिक गर्नुहोस् ।
  • त्यसपछि त्यहाँ दुईवटा सेक्सन देखिन्छन् । माथि विड्थ (चौडाइ) र हाइट (उचाइ) तल क्वालिटी (गुणस्तर) रहेको हुन्छ ।
  • त्यहाँबाट आफनो आवश्यकता अनुसार क्वालिटी घटाउन सकिन्छ । त्यसपछि ‘सेभ्ड रिसाइज कपी’मा क्लिक गरेपछि तपाईंले आफूलाई आवश्यक परेको फोटो साइज र फोटोको फाइल साइज मिलाउन सक्नुहुन्छ ।

यदि तपाईंलाई यो प्रक्रिया झन्झटिलो लाग्यो वा तपाईंसँग कम्प्युटर छैन भने यहाँ उल्लेख गरिएका विभिन्न साइटबाट फोटोको फाइल साइज मिलाउन सक्नुहुन्छ ।

स्मल पीडीएफ

यदि डकुमेन्ट तथा फोटो पीडीएप फर्म्याटमा परिवर्तन गरेर अपलोड गर्नुपर्ने छ भने ‘स्मल पीडीएफ’ उपयुक्त विकल्प हो । यसका माध्यमबाट कुनै पनि फर्म्याटको फोटो पीडीएफमा रूपान्तरण गरी अपलोड गर्न सकिन्छ ।

यसले फोटोको फाइल साइज ९२ प्रतिशतसम्म घटाउने गर्छ । उदाहरणका लागि तपाईंको फोटोको फाइल साइज १०० केबी छ भने यसबाट पीडीएफमा रूपान्तरण गर्दा ८ केबीको मात्र हुन्छ ।

इमेज कम्प्रेसर डट आईओ

यो एउटा त्यस्तो साइट हो, जसले हाम्रो आवश्यकता अनुसार फोटोको फाइल साइज व्यवस्थापन गर्न सहयोग गर्छ । उदाहरणका लागि यदि तपाईंलाई २० केबी, ५० केबी, १०० केबी वा ५०० केबीमा रूपान्तरण गर्न सहयोग गर्छ ।

याद गर्नुहोस् तपाईंले फोटोको वास्तविक फाइल साइज जति हो, त्यसभन्दा कम साइज छान्नुपर्ने हुन्छ । यसका लागि आफ्नो आवश्यकता अनुसार फाइल साइज घटाउन सकिन्छ ।

यदि धेरै घटाउन खोज्यो भने फोटो नै नबुझिने आउन सक्छ । त्यसैले यी कुरा ख्याल गरी फाइल साइज घटाउन सक्नुहुन्छ

कम्प्रेसर जेपीईजी

एकपटकमा धेरै फोटोको फाइल साइज घटाउनुपर्‍यो भने कम्प्रेसर जेपीईजीको सहयोग लिन सक्नुहुन्छ । यसका माध्यमबाट एकपटकमा २० ओटा फाइलको साइज घटाउन सकिन्छ ।

यसले फोटोको गुणस्तर नघटाई फोटोको फाइल साइज घटाउने भएकाले तपाईंले खोजे अनुसारको फाइल साइज निर्माण नगर्न सक्छ । त्यसैले पहिलो पटकमा तपाईंले खोजे अनुसारको फाइल साइज पाइन्छ भन्ने कुरामा ढुक्क नहुनुहोस् ।

यस साइटका माध्यमबाट जेपीईजी, पीएनजी, गिफ, पीडीएफ फर्म्याटका फोटोको फाइल साइज घटाउन सकिन्छ । यी सम्पूर्ण साइट थर्ड पार्टी साइट भएकाले संवेदनशील विवरण अपलोड नगर्नुहुन अनुरोध छ ।

टाइनी पीएनजी

माथि उल्लेख गरिएजस्तै टाइनी पीएनजी पनि एउटा त्यस्तो प्लेटफर्म हो, जसका माध्यमबाट वेबपी, पीएनजी, जेपीईजी जस्ता फर्म्याटका फोटोको फाइल साइज घटाउन सकिन्छ ।

यसमा पनि एकपटकमा २० ओटा फोटोको (जसमा प्रति फोटोको साइज ५ एमबीभन्दा कमको हुनुपर्छ) फाइल साइज घटाउन सकिन्छ ।

त्यस्तै दुई वा दुईभन्दा बढी फोटो डाउनलोड गर्नुपरे जिप फाइलमा डाउनलोड गर्न सकिन्छ भने केही निश्चित फाइल डाउनलोड गर्नु आवश्यक छ भने सिंगल फोटो पनि डाउनलोड गर्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३