close

चिटिङ गरेको भन्दै साढे ४ लाख बढी पब्जी मोबाइल अकाउन्टमाथि प्रतिबन्ध

टेकपाना टेकपाना

साउन १७, २०७९ १५:३४

चिटिङ गरेको भन्दै साढे ४ लाख बढी पब्जी मोबाइल अकाउन्टमाथि प्रतिबन्ध

काठमाडौं । पब्जी मोबाइल गेमकाे निर्माता कम्पनी टेन्सेन्टले साढे चार लाखभन्दा बढी अकाउन्टमाथि प्रतिबन्ध लगाएकाे छ । कम्पनीले ह्याकिङसँग सम्बन्धित गतिविधि निरूत्साहित गर्न एकैपटक लाखाैं अकाउन्टमाथि प्रतिबन्ध लगाएकाे हाे ।

यसअन्तर्गत पब्जी माेबाइल गेमका नियम बाहिर गएर चिटिङ गर्ने प्रयाेगकर्ताकाे अकाउन्ट प्रतिबन्धमा परेका छन् । टेन्सेन्टले हालै प्रकाशित गरेकाे एन्टी चिट रिपाेर्टअनुसार चार लाख ६२ हजार ३८९ अकाउन्ट बन्द गरिएकाे छ ।

पब्जी माेबाइल गेममार्फत ह्याकिङजन्य गतिविधि थालेपछि यस्ताे कदम लिइएकाे कम्पनीले जनाएकाे छ । साथै ह्याकसँग सम्बन्धित सामाजिक सञ्जालका अकाउन्ट तथा सामग्री पनि यस क्रममा हटाइएकाे पब्जीले जनाएकाे छ ।

रिपोर्ट अनुसार प्रतिबन्धमा परेका अकाउन्टमध्ये ४६ प्रतिशत अकाउन्टले एक्स-रे भिजन प्रयोग गरेकाे पाइएकाे छ । त्यस्तै अटो एम ह्याक र मोडिफिकेसन अफ एरिया ड्यामेजका कारण ४२ प्रतिशत अकाउन्टमाथि प्रतिबन्ध लगाइएको छ ।

यसैगरी स्पिड ह्याकका कारण आठ प्रतिशत र अन्य कारण देखाउँदै चार प्रतिशत अकाउन्टमाथि प्रतिबन्ध लगाइएको छ । कम्पनीले सार्वजनिक गरेकाे रिपोर्टमा प्रतिबन्धमा परेका अकाउन्टहरुको श्रेणीसमेत उल्लेख गरिएकाे छ, जुन यसप्रकार छ ।

  • ब्रोञ्जः ३४ प्रतिशत
  • सिल्भरः १८ प्रतिशत
  • गोल्डः सात प्रतिशत
  • प्लाटिन:म छ प्रतिशत
  • क्राउनः सात प्रतिशत
  • एसः २० प्रतिशत
  • कनक्वेररः एक प्रतिशत
  • डाइमन्डः सात प्रतिशत

यसबाहेक पब्जीले गेम छेडछाड गरेको भन्दै ५५ सयभन्दा धेरै डिभाइसमाथि पनि प्रतिबन्ध लगाएको छ ।

पब्जीले खेलाडीको गेमप्रतिको विश्वासलाई कायम राख्नका लागि सामाजिक सञ्जालमार्फत ह्याक सेल, ह्याकको प्रचारप्रसार गर्ने र प्रयोग गर्न सिकाउने पेज, ग्रुप, अकाउन्ट तथा भिडिओ पनि हटाइएको जनाएकाे छ ।

यस क्रममा फेसबुकबाट १० पेज र ग्रुप हटाइएको छ । इन्स्टाग्रामका १० अकाउन्ट र टिकटकका १०३ वटा भिडिओ हटाइएको छ । त्यस्तै युट्युब भिडिओमा ह्याक प्रयोग गर्न वा किन्न सिकाउने १००० वटा भिडिओ पनि हटाइएको छ ।

यसरी ह्याकिङ गतिविधि गर्नेमाथि पब्जी आक्रामक बन्दा अनुशासित रुपमा गेम खेल्ने प्रयाेगकर्ताले राम्रो गेमिङ वातावरणको महसुस गर्न पाउने कम्पनीकाे विश्वास छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३