close

ह्वावेको ‘सिड्स फर फ्युचर प्रोग्राम’: नेपालका ७ विद्यार्थी बैंकक जाँदै

टेकपाना टेकपाना

साउन ३१, २०७९ १८:२९

ह्वावेको ‘सिड्स फर फ्युचर प्रोग्राम’: नेपालका ७ विद्यार्थी बैंकक जाँदै

काठमाडौं । ह्वावेले विश्वव्यापी रुपमा व्यावसायिक सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत ‘सिड्स फर फ्युचर प्रोग्राम’ सञ्चालन गरिरहेकाे छ ।

सूचना प्रविधिको क्षेत्रमा अध्ययनरत विद्यार्थीलाई लक्षित गरेर विश्वका १३० देशमा सञ्चालित यस कार्यक्रममा नेपालबाट यसपटक सात विद्यार्थी सहभागी हुने भएका छन् ।

सन् २००८ सालमा थाइल्याण्डबाट सुरु भएको यो कार्यक्रममा नेपाली विद्यार्थीको यो दोस्रो सहभागिता हो ।

गत वर्ष कोभिड-१९ का कारण भर्चुअल रुपमा आयोजना भएको यो कार्यक्रम यसपटक भने भाैतिक रुपमै हुनेछ ।

यही अगस्ट १९ देखि अगस्ट २७ तारिखसम्म चल्ने कार्यक्रमका लागि नेपाली विद्यार्थीसहितको टोली बिहीबार अर्थात् अगस्ट १८ मा थाइल्याण्ड जाने भएकाे छ ।

यो कार्यक्रममा लागि ह्वावेले गएको जेठमा नेपाली विद्यार्थीमाझ आवेदन माग गरेको थियो, जसमा कुल २५६ विद्यार्थीको आवेदन परेको थियो ।

छनाेट हुने विद्यार्थीमा काठमाडौं विश्वविद्यालयका अध्यनरत निर्माण खड्का र प्रज्ञा मल्लिक, त्रिवि इन्जिनियरिङ संस्थान पुल्चाेकका रिया वैद्य र नदिका पौडेल, मदन भण्डारी मेमोरियल कलेजका वंशज पौडेल, खोपा इन्जिनियरिङ कलेजका जितिन भुसाल र अमृत साइन्स क्याम्पसका अजु तामाङ छनोट भएका छन् ।

सिड्स फर फ्युचर कार्यक्रममा सहभागी हुने विद्यार्थीले आफूलाई उत्कृष्ट सावित गर्न सकेको खण्डमा सिंगापुरमा आयोजना हुने ‘टेक फर गुड’ नामक अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा समेत सहभागी हुन पाउने जनाइएकाे छ ।

उक्त कार्यक्रम यही अगस्ट २९ देखि सेप्टेम्बर २ तारिखसम्म आयोजना हुनेछ ।

कार्यक्रममा विजेता हुनेले २० हजार अमेरिकी डलर पुरस्कारस्वरुप प्राप्त गर्नुका साथै आफ्नो परियोजनाको व्यावसायिक विस्तारका लागि आवश्यक लगानी जुटाउने अवसरसमेत पाउने जनाइएको छ ।

मंगलबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव वैकुण्ठ अर्यालको उपस्थितिमा राजधानीमा आयोजित कार्यक्रममार्फत ह्वावेले सात विद्यार्थीको नाम सार्वजनिक गरेको हो ।

कार्यक्रममा सचिव अर्यालले यस्ता कार्यक्रमले नेपालका विद्यार्थीले अन्तर्राष्ट्रिय स्तरमा आफूलाई प्रस्तुत गर्ने अवसर प्रदान गर्ने धारणा राखे ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३