close

निःशुल्क भीपीएनका लाखौं प्रयोगकर्ताको डेटा लिक

टेकपाना टेकपाना

भदौ ३, २०७९ १६:३८

निःशुल्क भीपीएनका लाखौं प्रयोगकर्ताको डेटा लिक

काठमाडौं । निःशुल्क रूपमा उपलब्ध भीपीएन एपमार्फत पाँच अर्ब ७० करोड भन्दा बढी डेटा लिक भएको पाइएको छ । साइबरन्युजले गरेको अनुसन्धानबाट ‘एयरप्लेन एक्सेलेरेट एप’ को चिनियाँ भर्सनको डेटा लिक भएको हो ।

गुगल प्ले स्टोरमा मात्रै यो एपले तीन हजार भन्दा बढी रिभ्यु पाएको छ । यो एपको डेटा लिक हुँदा लाखौं प्रयोगकर्ताको महत्त्वपूर्ण जानकारी बाहिरिएको उल्लेख छ । जसमा प्रयोगकर्ताको आईपी एड्रेस, डोमेन नेम, ईमेल लगायत रहेका छन् ।

यो एप विन्डोज, म्याकओएस, आईओएस र एन्ड्रोइड सबैमा उपलब्ध छ । जसले गर्दा लाखौं अथवा करोडौं चिनियाँ प्रयोगकर्ता यसबाट प्रभावित भएको हुनसक्ने आँकलन गरिएको छ ।

अध्ययन संस्थाका अनुसन्धानकर्ता एरास नाजारोभासका अनुसार यो डेटा लिक सामान्य डेटा लिकको तुलनमा निकै संवेदनशिल रहेको छ । यो डेटालाई ‘डि–एनोनिमाइज’ गरेर प्रयोगकर्तालाई ट्रयाक गर्न सक्ने जोखिम रहेको छ ।

अर्थात अव्यवस्थित रुपमा लिक भएको डेटालाई यसअघिको व्यवस्थित डेटासँग मिलाएर त्यहाँबाट प्रयोगकर्ताको महत्त्वपूर्ण जानकारी निकालेर ह्याकरले उनीहरूको उपकरणमा समेत पहुँच बनाउन सक्छन् । यो एप अस्ट्रेलियन कम्पनी एपी नेटर्वकले निर्माण गरेको हो । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४