close

नेपालमा एक वर्षमै भित्रिए ४९९ मोडलका मोबाइल

टेकपाना टेकपाना

भदौ ७, २०७९ १४:५

नेपालमा एक वर्षमै भित्रिए ४९९ मोडलका मोबाइल

काठमाडौं । एक वर्षको अवधिमा नेपालमा ४९९ मोडलका मोबाइल भित्रिएको पाइएको छ । नेपाल दूरसञ्चार प्राधिकरणकाे एमआईएस रिपोर्ट अनुसार अघिल्लाे वर्षकाे जेठदेखि गत जेठ महिनासम्ममा ४९९ माेडलका माेबाइल र ५१ माेडलका ट्यब्लेटले टाइप अप्रुभल लिएका छन् ।

नेपालमा हाल चीन, भारत, भियतनाम लगायतका मुलुकबाट मोबाइल सेट आयात हुने गरेको छ ।

भन्सार विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७८/०७९ मा ३८ अर्ब रुपैयाँभन्दा बढीका ५५ लाख ८६ हजार ५७८ थान मोबाइल नेपाल आयात भएकाे छ ।

दूरसञ्चार प्राधिकरणले सन् २००८ देखि उपकरण आयात गर्दा टाइप अप्रुभल लिनुपर्ने प्रावधान लागू गरेको थियाे भने सन् २०११ देखि यसलाई अनिवार्य गरिएको छ ।

यसमा मोबाइल सेटसहित रेडियो उपकरण, वाई-फाई, ट्याब्लेट, ब्लुटुथ डिभाइस, शर्ट रेन्जलगायतका डिभाइसले टाइप अप्रुभल लिनुपर्ने व्यवस्था छ ।

टाइप अप्रुभल लिँदा आयातकर्ताले कुनै पनि मोडलकाे उत्पादकको प्रमाणपत्र, वारेन्टी, ग्यारेन्टी पत्र, कस्टमर केयर सेन्टरको रिपोर्टलगायत विवरण प्राधिकरणमा पेस गर्नुपर्छ ।

सुरुवाती चरणमा यो सबै कागजी प्रक्रियामा आधारित भएपनि पछिल्लो केही वर्षदेखि भने प्राधिकरणले यसलाई अनलाइन आधारित बनाएको छ ।

टाइप अप्रुभल लिँदा ६ महिना (प्रोभिजनल) र पाँच वर्षको (पर्मानेन्ट) गरी दुई फरक आधार तय गरिएको छ ।

यसको अर्थ यदि ६ महिनाका लागि लिइएको छ भने उक्त मोडलको उत्पादन ६ महिनापछि फेरि ल्याउनु परे पुनः प्राधिकरणबाट स्वीकृति लिनुपर्ने हुन्छ ।

पर्मानेन्ट भएको खण्डमा एकपटक स्वीकृति लिएपश्चात् पुनः स्वीकृति लिनुपर्दैन । सोहीअनुरूप अघिल्लाे वर्षकाे जेठदेखि गत जेठसम्म कुल ४९९ ओटा मोडलका मोबाइलले टाइप अप्रुभल लिएका छन् ।

त्यसमध्ये २७५ मोडलका मोबाइलले प्रोभिजनल टाइप अप्रुभल लिएका छन् । भने, २२४ मोडलका मोबाइलले पर्मानेन्ट टाइप अप्रुभल लिएका छन् ।

त्यस्तै ट्याब्लेटतर्फ यो अवधिमा कुल ५१ ओटा मोडल भित्रिएका छन् । त्यसमध्ये २९ ओटाले पर्मानेन्ट टाइप अप्रुभल र २२ ओटाले प्रोभिजनल टाइप अप्रुभल लिएको तथ्याङ्कमा उल्लेख छ ।

शर्ट रेन्ज डिभाइसतर्फ कुल ४२२ मोडलले टाइप अप्रुभल लिएकोका छन् । शर्ट रेन्ज डिभाइसमा ब्लुटुथ र वाई-फाईबाट कनेक्ट हुने डिभाइस पर्दछन् ।

यीमध्ये २२० ओटा डिभाइसले पर्मानेन्ट र २०२ डिभाइसले प्रोभिजनल टाइप अप्रुभल लिएका छन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४