close

थप २२ धार्मिक तथा पर्यटकीय स्थानमा निःशुल्क वाई-फाई उपलब्ध गराउँदै सरकार

टेकपाना टेकपाना

भदौ ७, २०७९ १५:१७

थप २२ धार्मिक तथा पर्यटकीय स्थानमा निःशुल्क वाई-फाई उपलब्ध गराउँदै सरकार

काठमाडौं । सरकारले सोलुखुम्बु जिल्लाको पर्यटकीय क्षेत्र गोक्यो, थामेसहित देशका २२ भन्दा बढी धार्मिक तथा पर्यटकीय स्थानमा निःशुल्क वाई-फाई सेवा उपलब्ध गराउने भएको छ ।

दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले चालू आव २०७९/०८० को बजेटमार्फत यो परियोजना अघि बढाउने तयारी गरेकाे छ ।

त्यसका लागि प्राधिकरणले १२ करोड रूपैयाँ बजेट विनियोजन गरेको छ ।

हालै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले स्वीकृत गरेर प्राधिकरण बोर्डले पास गरेको चालू आवको बजेट तथा कार्यक्रममा लुम्बिनी विकास काेष परिसर, चिवा भञ्ज्याङ, लोभ्रे कुटी, हिलियाङ दरबारक्षेत्र, स्वर्गद्धारी, चतराधाम, सुनसरीको रामधुनी र लाङटाङ ट्रयाकमा निःशुल्क वाई-फाई उपलब्ध गराउने उल्लेख गरिएको छ ।

त्यस्तै लमजुङ, राम नदिघाट, छायाँ क्षेत्र, सत्यवती ताल, सेती बेनी, रिडी, बालगलुङको कालिका, नवलपरासीको मौला कालिका मन्दिर, ढोरपाटन परिसर, सोलुखुम्बु जिल्लाको थामे र गोक्यो क्षेत्र, पाटन, काठमाडौं तथा भक्तपुर दरबार स्क्वायर क्षेत्र लगायतका पर्यटकीय तथा धार्मिक क्षेत्रमा वाई-फाईमार्फत इन्टरनेट उपलब्ध गराउने उल्लेख गरिएको छ ।

त्यसो त धार्मिक तथा पर्यटकीय स्थलमा निःशुल्क वाई-फाई उपलब्ध गराउने विषय प्राधिकरणले पछिल्ला केही वर्षबाट गर्दै आएको छ । त्यसैको निरन्तरता स्वरूप यो वर्ष थप स्थानमा निःशुल्क वाई-फाई उपलब्ध गराउने तयारी प्राधिकरणले गरेको हो ।

यसअघिको सूचीमा एभरेष्ट बेस क्याम्प, अन्नपूर्ण सर्किट, जानकी मन्दिर लगायतका क्षेत्र समेटिएका थिए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४