काठमाडौं । सामसङ इलेक्ट्रोनिक्सका ग्लोबल प्रेसिडेन्ट (अध्यक्ष) एवं प्रमुख वित्तीय अधिकारी (सीएफओ) हार्क क्यू पार्कले नेपालको औपचारिक भ्रमणका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेका छन् ।
उक्त भेटमा पार्कसँगै कम्पनीका अन्य वरिष्ठ अधिकारीहरूको पनि सहभागिता रहेको थियो ।
भेटका क्रममा पार्कले देउवालाई सामसङले इलेक्ट्रोनिक्स उत्पादन, रिटेल र रोजगारी सिर्जनाका क्षेत्रमा गरिरहेको विभिन्न पहलका बारेमा जानकारी गराएको बताइएको छ ।
उनले यस प्रकारको पहलहरूले भविष्यमा समुदाय, विशेषगरी नेपाली युवाहरूको हितमा काम गर्ने सामसङको प्रतिबद्धता रहेको दाेहाेर्याए ।
सामसङले आफ्नो नेपालस्थित साझेदार हिम इलेक्ट्रोनिक्स (गोल्छा समह)सँग मिलेर नवलपरासीमा एलईडी टिभी उत्पादन गर्ने कारखाना सञ्चालन गर्ने घोषणा गरिसकेको छ । बुधबारमात्रै साे कारखानाकाे शिलन्यास गरिएकाे छ ।
नेपालमा इलेक्ट्रोनिक्स उत्पादनहरु गर्न यस नयाँ उद्योगबाट बल पुग्ने जनाउँदै सामसङले स्थानीय उत्पादन क्षमता वृद्धि गर्ने र रोजगारीका अवसरहरु सिर्जना गर्ने नेपाल सरकारको नीतिमा पनि मद्दत पुग्न पुग्ने विश्वास व्यक्त गरेको छ ।