close

सशस्त्र प्रहरीले विद्युतीय गाडीका लागि देशका १७ ठाउँमा चार्जिङ स्टेसन निर्माण गर्ने

टेकपाना टेकपाना

भदौ १०, २०७९ १६:११

सशस्त्र प्रहरीले विद्युतीय गाडीका लागि देशका १७ ठाउँमा चार्जिङ स्टेसन निर्माण गर्ने

काठमाडौं । सशस्त्र प्रहरी बलले विद्युतीय सवारीका लागि देशका विभिन्न १७ स्थानमा चार्जिङ स्टेसन निर्माण गर्ने भएको छ । नेपाल विद्युत प्राधिकरणसँग सम्झौता गर्दै सशस्त्र प्रहरीले यस्तो अग्रसरता देखाएको हो ।

चार्जिङ स्टेसन निर्माण तथा सञ्चालनका साथै सशस्त्र प्रहरीले नेपालका विभिन्न इकाईहरूमा इन्डक्सन चुलो समेत प्रयोगमा ल्याउने सम्झौतामा उल्लेख छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले शुक्रबार आयोजित एक कार्यक्रमबीच उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

यो सम्झौताले गैर नवीकरणीय ऊर्जाको खपत घटाई नवीकरणीय ऊर्जा खपत बढाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ । कार्यक्रममा घिसिङले स्मार्ट चार्जिङको अवधारणा अनुसार सशस्त्र प्रहरी बलसँग सम्झौता भएको बताए ।

उनले ग्यासको खपत घटाउँदै विद्युत उपयोगलाई बढाउँदै लैजाने लक्ष्य अनुरूप प्राधिकरणले काम गरिरहेको समेत उल्लेख गरे । सोही अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले यस प्रकारको सम्झौता प्राधिकरणसँग मिलेर काम गर्ने उपयुक्त अवसर भएको बताए ।

सम्झौता अनुसार सशस्त्र प्रहरी बलका हाल सञ्चालित दुई ओटा पेट्रोल पम्प तथा अन्य उपयुक्त स्थानमा गरी कूल १७ ओटा स्थानमा चार्जिङ स्टेसन निर्माण गरिनेछ । त्यस्ता चार्जिङ स्टेसन निर्माणमा लाग्ने सम्पूर्ण खर्च नेपाल विद्युत प्राधिकरणले व्यहोर्ने छ भने त्यसको सुरक्षा तथा सञ्चालन सशस्त्र प्रहरी बल नेपालले गर्ने जनाइएको छ ।

इन्डक्सन चुलो प्रयोगमा ल्याउन पहिलो चरणमा सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय, राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान तथा सबै बाहिनी मुख्यालय, तालिम शिक्षालय, गण र दोस्रो चरणमा सबै गुल्महरूका लागि प्राधिकरणबाट ट्रान्सफर्मर जडानको काम समेत हुने जनाइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३