काठमाडौं । चर्चित हास्य टेलिश्रृङ्खला सक्किगोनिले समेत अवैध सट्टेबाजी प्रवर्द्धन गरिरहेको पाइएको छ । अन्य केही युट्युब च्यानलको सिको गर्दै सक्किगोनिले समेत ‘अनलाइन क्यासिनो’को रुपमा कुख्यात वनएक्स बेटको प्रचारमा आफ्नो लोकप्रियताको दुरुपयोग गर्न थालेको हो ।
प्रत्येक साता बिहीबार हिमालय टेलिभिजनमा प्रसारण हुने यो हास्य टेलिश्रृङ्खला युट्युब च्यानल जेपीटी क्रियसन अफिसियलमा समेत सोही दिन प्रिमियर हुने गरेको छ । च्यानलमा राखिने हरेक भिडिओको डिस्क्रिप्सनमा नेपालमा अवैध मानिएको बेटिङ अर्थात सट्टेबाजी गराउने वेबसाइट वनएक्स बेटको रजिस्ट्रेसन लिङ्क राखिएको छ ।
सक्किगोनी सिरियलको युट्युब भिडिओको डिस्क्रिप्सनमा राखिएको वनएक्स बेटको लिङ्क
उक्त लिङ्कमार्फत रजिस्टर गरी ‘सक्किगोनी’ प्रोमो कोड प्रयोग गर्दा १३० प्रतिशत डिपोजिट बोनस १२ हजार रुपैयाँसम्म पाउन सकिने भन्दै प्रचार गरिएको छ । त्यतिमात्र होइन, युट्युब भिडिओका विभिन्न ठाउँमा त्यसको भिडिओ विज्ञापन समेत गरिएको छ ।
सक्किकोनिको युट्युब भिडिओमा राखिएको वनएक्स बेटको विज्ञापन
सक्किगोनी बाहेकका अन्य युट्यबुर जलान र प्र्याङ्क स्टार अलिश राईले समेत वनएक्स बेटको खुलेयाम प्रचार गरिरहेका छन् । जलानले त झन् वर्षौँदेखि भिडिओमै वनएक्स बेटको विज्ञापन समेत गरिरहेका छन् ।
जालानको युट्युबमा राखिएको वनएक्स बेटको विज्ञापनको स्क्रिनशटजालानको युट्यबु च्यानलको डिस्क्रिप्सनमा दिइएको वनएक्स बेटको लिङ्क र प्रचार
उनले आफ्नो १३० प्रतिशत (२० हजार रुपैयाँसम्म) बोनसका लागि आफ्नो प्रोमोकोड प्रयोग गर्न भन्दै भिडिओको सुरुवातमै आग्रह गर्दै आएका छन् । अर्का युट्यबुर अलिश राईले आफ्नो प्रोमोकोड प्रयोग गरी विजेता बन्न भन्दै डिस्क्रिप्सनमा लेखेका छन् ।
अलिश राईको युट्युब भिडिओको डिस्क्रिप्सनमा राखिएको वनएक्स बेटको प्रोमोसनल लिङ्क
उनले भिडिओकै बीचतिर घरमै बसीबसी टन्नै पैसा काउन सकिने प्रलोभन दिँदै वनएक्स बेट प्रयोग गर्न सुझाउँदै आएका छन् ।
विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल प्रतियोगितामा रहेर अनलाइन सट्टेबाजी गर्ने क्रम पछिल्लो समय निकै बढेको छ । सट्टेबाजी खेलाएको आरोपमा बेलाबखत विभिन्न व्यक्तिहरू पक्राउ पर्ने गरेको भए पनि खुलेयाम त्यसको प्रचारबाजी गर्ने युट्युबर भने प्रहरीको नजरमा पर्न सकेका छैनन् ।
अवैध सट्टेबाजीको प्रचार प्रसार गर्ने अन्य थुप्रै युट्युबर छन् । जसमा बल्छी धुर्बे समेत पर्छन् । हास्यात्मक प्रस्तुति दिने उनले समेत अरुले जस्तै वनएक्स बेटको प्रचार खुलेरै गर्ने गरेका छन् ।
त्यस्तै हास्य व्यङ्ग भिडिओको नाममा छाडा सामग्री पस्किने म्याकुरीले समेत आफ्नो युट्युब च्यानल द पीके भिन्समा अनलाइन बेटिङ साइट वनएक्स बेटको प्रचार गर्दै आएका छन् ।
प्रहरीले यस किसिमका गतिविधिलाई सट्टेबाजी गर्न नहुने सम्बन्धी कसूरमा मुद्दा चलाउने गरेको छ । राष्ट्र बैंकले समेत सट्टेबाजी मार्फत ठूलो मात्रामा विदेशी मुद्रा अपचलन हुने गरेको भन्दै त्यस किसिमका गतिविधिमा नलाग्न बेलाबेलामा सचेत गराउँदै आएको छ ।
सट्टेबाजी खेलाउनु मात्र नभएर त्यसको प्रचार गर्ने कार्य समेत गैरकानूनी मानिने नेपाल प्रहरीका प्रवक्ता प्रहरी महानिरीक्षक टेकप्रसाद राईको भनाई छ । टेकपानसँगको कुराकानीमा उनले यस्तो कार्यमा संलग्न रहेको पाइए कानून अनुसार कारबाही गरिने बताए ।