close

मोबाइल फोन कारमा चार्ज गर्ने बानी छ ? थाहा पाइराख्नुहोस्, यतिसम्म हुनसक्छ जोखिम

टेकपाना टेकपाना

भदौ १०, २०७९ १९:३१

मोबाइल फोन कारमा चार्ज गर्ने बानी छ ? थाहा पाइराख्नुहोस्, यतिसम्म हुनसक्छ जोखिम

काठमाडौं । यदि तपाईँसँग आफ्नो निजी गाडी छ भने पक्कै पनि त्यसैमा फोन समेत चार्ज गर्नु हुन्छ होला । कुनै समय लामो यात्रामा निस्केको बेला वा भनौँ कतै जाममा परेको बेला यसले ठूलो राहत दिन्छ ।

तपाईँलाई कारको यूएसबी पोर्टबाट सोझै केबल प्रयोग गर्दा त्यसले त्यति हानी गर्छ जस्तो नलाग्न पनि सक्छ । किनभने तपाईँको आशय जम्माजम्मी फोनको चार्ज सकिएर बन्द नहोस् भन्ने चाहना राखिरहनु भएको हुन्छ ।

चार्ज कसरी भइरहेको छ भन्ने कुरामा त्यति वास्ता हुँदैन । गाडीमा फोन चार्ज गर्दा त्यसले फोनमा कैयौँ जोखिम निम्त्याइरहेको हुन्छ । गाडीमा फोन चार्ज गर्दा त्यसमा हुने १२ भोल्टको सकेटले पावर दिइरहेको हुन्छ ।

सामान्यतया चार्जिङका लागि स्मार्टफोनले पाँच भोल्ट खपत गरिरहेको हुन्छ । जसले गर्दा एडप्टरले उपयुक्त भोल्टेज प्रवाह गरिरहेको हुन्छ । तर कारमा हुने एडप्टर फोनका लागि भनेर तयार पारिएको हुँदैन ।

त्यसले सो एडप्टरले फोनलाई जति भोल्टेज आवश्यक पर्छ, त्यसभन्दा बढी भोल्टेज प्रवाह गर्छ । त्यस्तै यदि कारको एडप्टरमा केही समस्या आएको रहेछ भने पनि त्यसले फोनको ब्याट्रीमा समस्या ल्याउन सक्छ ।

यदि तपाईँले आफ्नो स्मार्टफोन गाडीको एडप्टरमा चार्ज गर्ने गर्नु भएको छ भने फोनको चार्ज छिटो घटिरहेको महसुस गर्नु भएको हुन सक्छ । कतिपय अवस्थामा तपाईँले आफ्नो फोनको ब्याट्री बिग्रिदै गएको कुरा तत्कालै महसुस नगर्न पनि सक्छ ।

यदि ब्याट्री बिग्रेको थाहा नपाएर निरन्तर चार्ज गरिरहनु भयो भने त्यसले तपाईँको स्मार्टफोनको ब्याट्रीलाई झनै खराब बनाइदिन सक्छ ।

विद्युतीय उपकरण मर्मत गर्ने कम्पनी युब्रेकका म्यानेजर जोशुआ सट्टन भन्छन्, “लामो समयसम्म पनि ब्याट्रीमा असर परेको थाहा भएन भने प्रयोगकर्ताले पछि ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ । यसरी कारमा मोबाइल चार्ज गर्दा यसले ब्याट्रीमा असर त पुर्‍याउँछ नै । सँगसँगै चार्जिङ पोर्टमा पनि यसले समस्या निम्त्याउँछ ।”

त्यस्तो अवस्थामा यदि फोनको आधिकारिक चार्जर प्रयोग गर्न सकियो भने उपयुक्त हुने सट्टनको सुझाव छ । पहिलेका परम्परागत कारभन्दा नयाँ कार उन्नत हुने भएकाले यो समस्यालाई केही हदसम्म सुरक्षित बनाइएको त हुन्छ ।

तर पनि फोन कारमा चार्ज गरेर जोखिम नलिन सट्टन सुझाउँछन् । त्यसो त गाडी चलाइरहँदा फोन प्रयोग गर्नु असुरक्षित हुन्छ ।

गाडीमा फोन चार्ज गर्दा बेलाबेलामा आँखा त्यतै जाने भएकाले त्यसले दुर्घटना समेत निम्त्याउन सक्ने विज्ञहरूको भनाइ छ । कारमा आफ्नो स्मार्टफोन चार्ज गर्दा त्यो फोन र तपाईँ स्वयंका लागि हानिकारक हुन सक्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३