close

गाउँपालिकाका सबै विद्यालयमा मोबाइल निषेध !

टेकपाना टेकपाना

भदौ ११, २०७९ ११:५५

गाउँपालिकाका सबै विद्यालयमा मोबाइल निषेध !

काठमाडौं । गुल्मीको छत्रकोट गाउँपालिका अन्तर्गतका विद्यालयहरूमा मोबाइल निषेध गरिएको छ । 

विद्यार्थीको पढाइमा असर गरेको भन्दै गाउँपालिकाको गाउँ शिक्षा समितिको भदौ ९ गते बसेको बैठकले तत्काल लागू हुनेगरी विद्यालयमा मोबाइल प्रतिबन्ध गर्ने निर्णय गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पन्थीले जानकारी दिए ।

विद्यालय हाताभित्र मोबाइल फोनको प्रयोग अत्यधिक बढेपछि विद्यार्थीको पठनपाठनमा प्रत्यक्ष प्रभाव परेकोले यस्तो निर्णय लिएको उनले बताएका छन् । 

“मोबाइलको प्रयोगलाई छुट दिँदा शिक्षक/शिक्षिकाहरूले कक्षाकोठाभित्रै मोबाइल प्रयोग गर्ने तथा फोन आएको बहानामा पटकपटक कक्षाकोठाबाट बाहिर निस्कने समस्याको जानकारी गाउँपालिकालाई आएको थियो,” उनले भने, “साथै इन्टरनेटको उपलब्धताले विद्यार्थीहरू पनि विद्यालयमा नै युट्युब/टिकटक हेर्ने गर्न थालेपछि पढाइलाई प्रभावित हुन नदिन हामीले मोबाइल प्रतिबन्ध गरेका हौँ।”

यसअघि पनि विद्यालयहरूमा मोबाइलको प्रयोग नगर्न आग्रह गरिँदै आएपनि कार्यन्वयन नभएपछि लिखित रुपमा नियम नै बनाएर अगाडि बढ्नुपरेको उनकाे भनाइ छ ।

उनका अनुसार शिक्षक/शिक्षिकाले कक्षाकोठाभित्र मोबाइल प्रयोग गर्न पाउने छैनन् भने विद्यार्थीले विद्यालय हाताभित्र मोबाइल नै लान पाउने छैनन् ।

यदि कसैले नियम नमानेको पाइएमा आवश्यक कारबाही गरिने उनले बताए ।

अध्यापनका लागि आवश्यक भएको खण्डमा भने शिक्षक/शिक्षिकाहरूले ल्यापटप र प्रोजेक्टर सहित मोबाइल नै प्रयोग गर्नुपरे अनुमति लिएर प्रयोग गर्ने सकिने व्यवस्था गरिएकाे छ ।

यो गाउँपालिकामा ४२ ओटा सामूदायिक विद्यालय र सात ओटा संस्थागत विद्यालयहरु गरी ४९ वटा विद्यालय रहेका छन् ।

तीमध्ये आठ ओटा सामुदायिक र एउटा संस्थागत गरी नौ माध्यमिक विद्यालय र बाँकी रहेका ४० वटा विद्यालयहरु आधारभूत तहका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३