close

एआई क्षेत्रमा भविष्य खोज्दै हुनुहुन्छ ? अपनाउनुहोस् यी ८ सीप

टेकपाना टेकपाना

भदौ ११, २०७९ २२:३९

एआई क्षेत्रमा भविष्य खोज्दै हुनुहुन्छ ? अपनाउनुहोस् यी ८ सीप

काठमाडौं । प्रविधि क्षेत्रमा रुचि राखेर आफ्नो भविष्य त्यसैमा देख्नेहरू सफल भएका थुप्रै उदाहरण छन् । आज विश्वमा सर्वाधिक धनीको सूचीमा पर्ने व्यक्ति प्रायः सूचना प्रविधि क्षेत्रकै छन् ।

यदि आफ्नो पढाइ वा आफूले जानेको सीपलाई आधार बनाएर प्रविधिमा आफ्नो भविष्य देखिरहनु भएको छ भने तपाईँका लागि आर्टिफिसियल इन्टेलिजेन्स उपयुक्त हुनसक्छ ।

तपाईंले आफ्नो फोनमा गुगल असिस्टेन्ट, सिरी वा एलेक्जा त प्रयोग गर्नुभएको छ होला । त्यस्तै बिना कुनै ड्राइभर चल्ने गाडी देख्नुभएको वा प्रयोग गर्नुभएको हुनसक्छ, च्याटबटसँग कुरा गर्नुभएको हुनसक्छ ।

यसैगरी युट्युब, नेटफ्लिक्सले सुझाव दिएका विभिन्न भिडिओ पनि हेर्नु भएको छ होला । यी सबै कुरा आर्टिफिसियल इन्टेलिजेन्स अन्तर्गत नै आउने गर्छन् । जसको छोटो रूप ‘एआई’ हाे ।

सामान्य अर्थमा भन्नुपर्दा एआईले विशेषगरी मानव व्यवहारलाई अध्ययन गर्दै त्यही अनुसारको काम गर्ने गर्छ । विश्व प्रविधिलाई उन्नत बनाउनका लागि विभिन्न क्षेत्र जस्तै; स्वास्थ्य सेवा, वित्तीय, मनोरञ्जन र यातायातमा एआईको प्रयोग बढ्दो छ ।

एआईमा मानिसबाट नयाँ कुराहरू सिक्ने, समस्या समाधान गर्ने निर्णय लिने, काममा जनशक्तिको सङ्ख्या घटाउनसक्ने क्षमता रहेको हुन्छ ।

कुनै पनि प्रविधिलाई गलत तरिकाले प्रयोग गरियो भने त्यसले दुर्घटना निम्त्याउनु स्वभाविक नै हो । विभिन्न साइन्स फिक्सन फिल्महरूमा एआईले कस्तो दुर्घटना निम्त्याउन सक्छ भन्ने कुराको कल्पना गरिएको हुन्छ ।

तर, यसलाई मानवीय सेवाका रूपमा, प्रविधि विकासका रूपमा हेरियो भने मानव जातिका लागि उपयुक्त हुन्छ । यदि तपाईं एआईमा रुचि राख्नुहुन्छ र यसैमा आफ्नो भविष्य बनाउन चाहनुभएको छ भने यो लेख तपाईँका लागि उपयुक्त हुन्छ ।

विश्व धनाढ्य एलन मस्कको न्यरोलिङ्कले दृष्टिविहीनलाई जसरी सहयोग गर्ने अपेक्षा गरिएको छ, त्यस्तै तपाईंले परिकल्पना गरेको कुनै एआई सिस्टम मानव जातीका लागि वरदान हुनसक्छ ।

एआईमा भविष्य बनाउन के-के कुरामा ध्यान दिनुपर्छ भन्ने कुरा हामीले यहाँ उल्लेख गरेका छौँ ।

एआई इन्जिनियर बन्नका लागि आवश्यक पर्ने सीप

एआई इन्जिनियरले थुप्रै काम गर्न सक्छन् । उनीहरू साइन्स फिक्सन फिल्मजस्तो उपयोगी प्रविधि निर्माणका लागि मसिन लर्निङ अल्गोरिदम तयार पारेर प्रयोग गर्न सक्षम हुन्छन् ।

त्यस्तो काम गर्न सक्षम हुनका लागि एआई इन्जिनियरलाई यी आठ सीपको आवश्यकता पर्छ ।

एनालाइटिक्स

एआई परीक्षण गर्न र त्यसलाई काममा सक्षम बनाउनका लागि एनालाइटिक्सको भूमिका महत्त्वपूर्ण हुने गर्छ । प्याटर्न विश्लेषण गर्ने, गहिरो अध्ययन गर्ने एआई मोडलका लागि पनि एनालाइटिक्स प्रयोग भएको हुन्छ ।

त्यसैले एक सक्षम एआई इन्जिनियर बन्न एनालाइटिक्सको ज्ञान हुन आवश्यक हुन्छ ।

गणितीय ज्ञान

तपाईँले यहाँसम्म अध्ययन गर्नुभएको छ भने एआईमा रुचि राख्नु हुने रहेछ भन्ने अनुमान लगाउन सकिन्छ । इन्जिनियर बन्ने भनेपछि गणितमा पक्कै पनि रुचि हुने नै भयो ।

एआईका लागि गणितीय ज्ञान हुन निकै आवश्यक पर्छ । विभिन्न प्रोग्रामिङका लागि पनि गणितमा लागू हुने सुत्र आवश्यक हुन्छ । त्यसैले गणितसम्बन्धी सीप हुनु अत्ति नै आवश्यक पर्छ ।

तथ्याङ्क र एल्गोरिदम

एल्गोरिदम र आर्टिफिसिएल इन्टेलिजेन्स एक-अर्काका परिपूरक नै हुन् । एल्गोरिदममा काम गर्नका लागि तपाईँले स्टाटिस्टिक (तथ्याङक) बारे बुझ्न आवश्यक हुन्छ ।

एआई इन्जिनियर त्यस्तो हुनुपर्छ, जसमा स्ट्यान्डर्ड डेभियसन, प्रोब्याबिलिटी र अन्य थुप्रै तथ्याङ्कीय ज्ञान हुनुपर्छ ।

प्रोग्रामिङ ल्याङ्ग्वेजबारे ज्ञान

एआईमा रुचि राख्नुभएको छ भने पक्कै पनि विभिन्न प्रोग्रामिङ ल्याङ्ग्वेजबारे त सुन्नुभएको छ होला । वा कतिपय कामका लागि प्रयोग गर्नुभएको पनि हुनसक्छ ।

तपाईँ एक सफल एआई इन्जिनियर हुनका लागि यस्ता प्रोग्रामिङ ल्याङ्ग्वेजमा दक्ष हुनुपर्छ ।

एआई इन्जिनियलाई सबैभन्दा बढी काम पाइथनमा काम गर्नुपर्छ । त्यस्तै तपाईँ विभिन्न प्रोग्रामिङ ल्याङ्ग्वेज जस्तै सी, सी++, जाभामा दक्ष हुनुपर्छ ।

समस्या समाधान गर्नसक्ने क्षमता

एआई इन्जिनियरले जहिले पनि एक चरण अगाडि गएर सोच्नुपर्ने हुन्छ । एउटा निश्चित नियम मानेर वा कसैले अपनाएको तरिकालाई पछ्याएर गर्नुपर्ने काम थोरै हुन्छन् ।

यसमा विशेषगरी आफ्नै क्षमतामा अडिग भएर काम गर्नुपर्ने हुन्छ । आफ्नै क्षमतामा विश्वस्त भएर काम गर्दा धेरै समस्या आउन सक्छ ।

त्यसैले एआई इन्जिनियर बन्नका लागि समस्या समाधान गर्नसक्ने क्षमता हुनु आवश्यक छ । त्यस्तै यही समस्याको समाधानका लागि थुप्रै विज्ञसँग कुरा गर्नुपर्ने हुनसक्छ । त्यसैले एआई इन्जिनियरलाई कम्युनिकेसनको सीप चाहिन्छ ।

न्युरल नेटवर्क सम्बन्धी ज्ञान

एआई क्षेत्रमा राम्रो काम गर्नका लागि तपाईँमा न्युरल नेटवर्क सम्बन्धी ज्ञान हुन पनि आवश्यक पर्छ । न्युरल नेटवर्क एउटा त्यस्तो सफ्टवेयर हो, जसले मानव मस्तिष्कको जस्तै काम गर्छ ।

यसले विशेषगरी प्याटर्न पहिचान गर्ने, जटिल समस्या समाधान गर्ने लगायत विभिन्न काम गर्न सघाउँछ ।

टिम व्यवस्थापन

एआई इन्जिनियर विशेषतःः स्वतन्त्र रूपमा एक्लै काम गर्न खोजिरहेका हुन्छन् । कतिपय अवस्थामा मसिनसँग भन्दा पनि मानिसहरूसँग सहकार्य गरेर काम गर्नुपर्ने हुन्छ ।

तपाईँ एआई इन्जिनियर भएको नाताले थुप्रै डेभलपर र अन्य इन्जिनियरसँग काम गर्नुपर्ने हुन्छ । त्यसैले तपाईँमा सहकार्य गर्ने, टिम व्यवस्थापन गर्ने सीप हुन जरूरी छ ।

तपाईंले आफ्नो करियरका बारेमा सोच्दा आफूसँग सहकार्य गरिरहेका मानिसको बारेमा पनि सोच्नुपर्ने हुन्छ ।

क्लाउड सम्बन्धी ज्ञान

तपाईँ एक एआई इन्जिनियर बन्न खोजिसकेपछि क्लाउड आर्किटेक्चरबारे पनि ज्ञान हुनुपर्छ । विभिन्न डेटा संकलन र भण्डारण गर्न तपाईँलाई क्लाउडबारे गहिरो अध्ययन चाहिन्छ ।

क्लाउडबारे जानिसकेपछि तपाईँले सुरक्षित क्लाउड सिस्टम पहिचान गरेर त्यही प्रयोग गर्न सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३