close

स्टार्टअप अवार्ड आयोजना गर्दै युवा उद्यमी मञ्च, पहिलो हुनेलाई ५ लाख नगदसहितको पुरस्कार

टेकपाना टेकपाना

भदौ १२, २०७९ १७:१८

स्टार्टअप अवार्ड आयोजना गर्दै युवा उद्यमी मञ्च, पहिलो हुनेलाई ५ लाख नगदसहितको पुरस्कार

काठमाडौं । युवा उद्यमीहरूको संस्था नेपाली युवा उद्यमी मञ्च नेपालले स्टार्टअप अवार्ड आयोजना गर्ने भएको छ । नेपाली उद्यमीलाई थप प्रोत्साहन र साथ प्रदान गर्ने उद्देश्यका साथ मञ्चको काठमाडौं च्याप्टरले नेपाली युवा उद्यमी मञ्च काठमाडौं स्टार्टअप अवार्ड प्रदान गर्ने भएको हो । 

मञ्चले युवाहरूलाई व्यवसायिक क्षेत्रमा लाग्न प्रेरित गर्ने उद्देश्यले उत्कृष्ट स्टार्टअप आइडियालाई पुरस्कृत गर्ने छ । यो कार्यक्रममार्फत नयाँ उद्यमीहरूलाई आवश्यक पर्ने एक्सपोजर, मेन्टरशिप र लगानीको अवसर समेत दिइनेछ । 

अवार्डमा सहभागी हुन चाहने स्टार्टअप कम्पनी नेपाल सरकारले तोकेको कार्यालयमा दर्ता भएको हुनुपर्नेछ । त्यस्तै स्टार्टअप स्थापना भएर ५ वर्ष नकटेको हुनु पर्नेछ । यति मात्र नभएर स्टार्टअपले प्रदान गरेको अथवा गर्न चाहेको वस्तु उत्पादन अथवा सेवा तयारी अवस्थामा हुनु पर्नेछ । 

स्टार्टअपले आफ्नो सबै भन्दा नजिकको समयमा गरिएको अडिट रिपोर्ट समेत बुझाउनु पर्नेछ । अडिट रिपोर्ट नभएको खण्डमा प्रोभिजनल वित्तीय विवरण बुझाउनु पर्नेछ ।

निर्धारित अवधिभित्र यी सबै आवश्यक कागजात सहित आवेदन पेश गर्ने कम्पनीहरू मात्र अवार्डका लागि योग्य हुनेछन् । नेपाली युवा उद्यमी मञ्चको सदस्यता लिएका उद्यमीले सञ्चालन गरेका कम्पनीले भने अवार्डमा सहभागी हुन पाउने छैनन् । 

अवार्ड विजेतालाई पहिलो, दोस्रो र पिपुल्स च्वाइस अवार्ड प्रदान गरिनेछ । अवार्डमा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः चा लाख रुपैयाँ, दुई लाख रुपैयाँ र एक लाख रुपैयाँ नगद उपहार प्रदान गरिनेछ । 

सगरमाथा इन्स्योरेन्सले कार्यक्रमलाई मुख्य प्रायोजन गरेको छ भने सह प्रायोजकको रूपमा सिद्धार्थ बैंक रहेको छ । अवार्डका लागि दर्ता फारम १० भादौदेखि खुलाइनेछ । दर्ता फारम एनवाईईएफ स्टार्टअप अवार्ड डटकममा उपलब्ध हुनेछ।  

नेपाली युवाबीच आइडिया आदानप्रदान, फेलोशिप, प्रशिक्षण र पैरवी गर्ने उद्देश्यका साथ स्थापना भएको नेपाली युवा उद्यमी मञ्चले नेपाल उद्योग वाणिज्य महासङ्घबाट सन् २००३ मा आधिकारिक मान्यता पाएको थियो ।

मञ्चले नेपाली युवाहरूमा उद्यमशीलता विकास गर्न टक शो, मेन्टरशिप, मास्टर क्लास लगायतका कार्य गर्दै आएको छ । संस्था विस्तारको क्रममा सन् २०१६ सालमा मञ्चको काठमाडौं च्याप्टर स्थापना भएको हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३