काठमाडौं । दूरसञ्चार पहुँच नपुगेका नेपालका विभिन्न स्थानमा माइक्रोवेब प्रणालीमार्फत सेवा उपलब्ध गराइने भएकाे छ । अझै पनि देशको करिब २० प्रतिशत भू-भाग दूरसञ्चार सेवाको पहुँचभन्दा बाहिर रहेको अनुमान छ ।
यस्तोमा नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले यी स्थानमा माइक्राेवेब प्रणालीमार्फत सेवा उपलब्ध गराउने उद्देश्यका साथ परियोजना अघि बढाएको छ ।
प्राधिकरणले चालू आर्थिक वर्ष २०७९/०८० को बजेट तथा कार्यक्रममा दूरसञ्चार सेवा नपुगेका स्थानमा माइक्रोवेबमार्फत सेवा उपलब्ध गराउने कार्यक्रम तय गरेको हाे ।
दूरसञ्चार सेवा प्रदायकमार्फत दूरसञ्चार सेवाको पहुँच नपुगेका स्थानमा माइक्रोवेब टावर निर्माण गरी दूरसञ्चार सेवा उपलब्ध गराउन प्राधिकरणले एक अर्ब बजेट विनियोजन गरेको छ ।