close

जीवविज्ञान, कम्प्युटर र गणितको मिश्रित कोर्ष ‘बीएससी ईन बायोइन्फर्मेटिक्स’

सञ्जीवन राई सञ्जीवन राई

भदौ १४, २०७९ १३:२९

जीवविज्ञान, कम्प्युटर र गणितको मिश्रित कोर्ष ‘बीएससी ईन बायोइन्फर्मेटिक्स’

काठमाडाैं । हाम्रा शैक्षिक पाठ्यक्रम समय सान्दर्भिक भएनन् भने यसकाे सिधा असर उद्याेगमा पर्न जान्छ । वर्तमान उद्याेगकाे आवश्यकता अनुसार दक्ष जनशक्ति उत्पादन नहुँदा बजारमा थप बेराेजगारीकाे संकट निम्तिने खतरा हुन्छ ।

नेपालमा पनि विश्वविद्यालयका पाठ्यक्रम समय सान्दर्भिक भएनन् भनेर बेलाबेला आवाज सुनिने गर्छ ।

यसैबीच काठमाडौं विश्वविद्यालयले नेपालमै पहिलो पटक याे वर्षदेखिदेखि ‘बीएससी ईन बायोइन्फर्मेटिक्स’ कार्यक्रम सुरु गरेको छ ।

याे कस्ताे शैक्षिक कार्यक्रम हाे, अध्ययनपछिका अवसर, पढ्न कति खर्च लाग्छ लगायतका विषय समेटी याे सामग्री तयार पार्दै छाैं ।

कस्ताे काेर्ष हाे ‘बीएससी ईन बायोइन्फर्मेटिक्स’ ?

काठमाडाैं विश्वविद्यालयले नेपालमा पहिलाे पटक यही शैक्षिक सत्रबाट याे कार्यक्रम सञ्चालनमा ल्याउन लागेकाे हाे । केयूले यसअगाडि सन् २००३ बाट बायाेटेक्नाेलाेजी सञ्चालनमा ल्याएकाे थियाे ।

यही काेर्षमा पनि बायाेइन्फाेर्मेटिक्सका केही विषयहरुकाे पढाइ हुने भएपनि त्यसले बजारमा दक्ष जनशक्तिकाे माग पूरा गर्न नसकेकाले  याे काेर्ष सञ्चालनमा ल्याइएकाे केयूका बायाेटेक्नाेलाेजी विभागका प्रमुख प्रा. सुवाेधकुमार उपाध्यायले बताए  ।

अबकाे पाँचदेखि १० वर्षभित्रमा बायाेलाेजिकल सूचना विश्लेषण गर्ने जनशक्तिकाे उच्च माग हुने हुनाले त्याे माग पूरा गर्न याे काेर्ष सञ्चालन गरिएकाे काठमाडाैं विश्वविद्यालयले जनाएकाे छ । 

सरल भाषामा  बुझ्‍ने हाे भने बायाेलाेजी (जीव विज्ञान) मा भएका डेटालाई कम्प्युटरकाे प्रयाेग गरी अध्ययन तथा विश्लेषण गर्ने विषय ‘बायाेइन्फाेर्मेटिक्स’ हाे ।

आजभाेलि बायाेलाेजीमा धेरै अध्ययन हुने गर्दछ । हामीले केही समयअगाडि भाेगेकाे काेराेना महामारीविरुद्ध खाेप निर्माण गर्नसमेत थुप्रै अध्ययन भए, जसमा धेरै डेटाकाे अध्ययन गर्न परेकाे थियाे ।

यस्तै बायाेलाेजीमा भएका डेटा अध्ययन तथा विश्लेषण गर्ने विषय बायाेइन्फाेर्मेटिक्स हाे ।

“याे बायाेलाेजी, कम्प्युटर र गणितकाे एक मिश्रित काेर्ष भएकाले यसलाई ‘कम्प्युटेसनल बायाेलाेजी’ पनि भनिन्छ । किनकि याे बायाेलाेजी र इन्‍फाेर्मेटिक्सकाे मिश्रित विषय पनि हाे,” काेर्षबारे जानकारी दिँदै प्रा. उपाध्यायले भने, “बायाेलाेजीले दिएकाे सूचनालाई कम्प्युटरकाे माध्यमबाट विश्लेषण गर्ने विषय नै बायाेइन्फाेर्मेटिक्स हाे ।”

उनका अनुसार बायाेलाेजीमा भएका सूचनाहरूकाे अध्ययन तथा विश्लेषण गर्नका लागि यसमा कम्प्युटर विज्ञान र गणितकाे प्रयाेग गरिन्छ ।

क-कसले याे शैक्षिक कार्यक्रम पढ्न पाउँछन् ?

याे विषय अध्ययन गर्नका लागि माध्यमिक तह (प्लस टु) मा प्रत्येक विषयमा सी ग्रेड र एग्रिगेडमा २ जीपीएभन्दा बढी ल्याएकाे हुनुपर्छ ।

बायाेलाेजी, कम्प्युटर वा गणितमा रुचि राख्ने विद्यार्थीका लागि याे काेर्ष उपयुक्त हुने केयूका बायाेटेक्नाेलाेजी विभागका सहप्राध्यापक सिमाेनकुमार श्रेष्ठ बताउँछन् । 

अध्ययनपछिका अवसर

काेर्षकाे अध्ययनपछि बायाेइन्फाेर्मेटिक्स अथवा आईटी कम्पनीहरुमा डेटा वैज्ञानिक, सूचना विश्लेषक, सफ्टवेयर डेभलपर आदिका रुपमा काम गर्न सकिन्छ ।

साथै यस काेर्षकाे अध्ययन पश्चात कृषि, औषधि उत्पादन, मटेरियल डिजाइनजस्ता क्षेत्रमा काम गर्न सकिने श्रेष्ठले बताए ।  

पाठ्यक्रम

कुल १३४ क्रेडिट आवरकाे ८ सेमेस्टर (चार वर्षे) याे काेर्ष प्लस टु तहमा बायाेलाेजी, कम्प्युटर अथवा गणित विषयमध्ये कुनै विषय नपढेकाहरुलाई पनि सहज हुने तरिकाले बनाइएकाे विश्वविद्यालयले जनाएकाे छ ।

यस कुल काेर्षमा फिजिक्स ७ प्रतिशत, केमेस्ट्री ५ प्रतिशत, बायाेलाेजी १६ प्रतिशत, इलेक्टिभ्स ७ प्रतिशत र म्याथ ११ प्रतिशत पढाइ हुन्छ । त्यस्तै कम्प्युटर १३ प्रतिशत, सफ्ट स्किल १० प्रतिशत, बायाेइन्फाेर्मेटिक्स २७ र फाइनल थेसिस ४ प्रतिशतकाे छ ।  

काेटा र छात्रवृत्ति

केयूले याे शैक्षिक सत्रमा ३० विद्यार्थीका लागि मात्रै भर्ना लिँदै छ, जसमा धुलिखेल नगरपालिकाका विद्यार्थीका लागि तीन काेटा छुट्याइएकाे छ । त्यसैगरी १० प्रतिशत काेटा विदेशी विद्यार्थीका लागि छुट्याइएकाे छ ।

केयूले प्रवेश परीक्षामा पहिलाे हुने र प्रत्येक सेमेस्टरमा पहिलाे हुनेलाई छात्रवृत्ति उपलब्ध गराउने बायाेटेक्नाेलाेजी विभागका सहप्राध्यापक श्रेष्ठले बताए ।

शुल्क र भर्ना  

यस काेर्ष गर्न लागि ८ लाख ४० हजार रुपैयाँ लाग्छ । हाल यसकाे पढाइ धुलिखेलस्थित विश्वविद्यालयमा मात्र हुनेछ । यस विषयमा भर्नाका लागि भदाै २५ गतेभित्र अनलाइन आवेदन दिन यहाँ क्लिक गर्नुहाेस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३