close

आर्थिक मन्दीका बावजुद एनसेलको मुख्य कम्पनी आजियाटाले बढायो नाफा

टेकपाना टेकपाना

भदौ १४, २०७९ १८:५१

आर्थिक मन्दीका बावजुद एनसेलको मुख्य कम्पनी आजियाटाले बढायो नाफा

काठमाडौं । विश्व बजारमा देखिएको आर्थिक मन्दीका बावजुद पनि नेपालकाे दूरसञ्चार सेवा प्रदायक एनसेलको अभिभावक कम्पनी आजियाटा ग्रुपले राम्रो आम्दानी गर्न सफल भएको छ ।

मलेसियामा मुख्यालय रहेकाे आजियाटा ग्रुप अन्तर्गत एनसेलसँगै मलेसियामा सेलकम, इन्डोनेसियामा एक्सएल आजियाटा, डाइलग, बङ्गलादेशमा रोबी, कम्बोडियाको स्मार्ट जस्ता ठूला दूरसञ्चार कम्पनी रहेका छन् ।

सन् २०२२ को दोस्रो चौमासिकमा ग्रुप अन्तर्गत रहेको धेरैजसो कम्पनीले राम्रो प्रतिफल दिँदा ग्रुपको आम्दानी उल्लेख्य रुपमा बढेको जनाएको छ । त्यसमध्ये पनि मलेसियामा रहेको दूरसञ्चार कम्पनी सेलकम र इन्डोनेसियामा रहेको टावर कम्पनी एक्सएल आजियाटाको सबैभन्दा ठूलो योगदान रहेको जनाइएको छ ।

‘विश्व बजारमा देखिएको आर्थिक मन्दी र चिप अभावका बावजुद पनि आजियाटा अन्तर्गतका कम्पनीहरूले दोस्रो चौमासिकमा राम्रो उपलब्ध हासिल गर्न सफल भएका छन्’ कम्पनीका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत ह्यान्स विजयासुरियाले भने, ‘यो पटक श्रीलङ्का र बङ्गलादेशमा रहेका कम्पनीबाहेक अन्यले राम्राे प्रर्दशन गर्न सफल भए ।’

वैदेशिक मुद्रा विनिमयमा आएको कमीका कारण श्रीलंका र बङ्गलादेशमा रहेका कम्पनीले भने गत वर्षको तुलनामा २३.६ मिलियन डलर घाटा व्यहोरेका छन् ।

तर, पनि आजियाटा ग्रुपको आम्दानी ४.९ प्रतिशतले बढेको छ ।

आजियाटाका अनुसार मलेसियाकाे सेलकमको आम्दानी गत वर्षको तुलनामा ३.२ प्रतिशतले बढेर १.७ बिलियन मलेसियन रिङ्गिट पुगेको छ । यसबाट कम्पनीको खुद नाफा ७०.४ प्रतिशतले बढेको जनाइएको छ ।

त्यस्तै इन्डाेनेसियाकाे एक्सएलको आम्दानी १३.२ प्रतिशतले बढेको छ । कम्पनीले यो अवधिमा कुल २.२ बिलियन मलेसियन रिङ्गिट आम्दानी गर्दै खुद नाफा ७.५ प्रतिशत हासिल गरेकाे छ ।

अर्कोतर्फ बङ्गलादेशको दूरसञ्चार कम्पनी रोबीको आम्दानी ४.७ प्रतिशतले बढेको भएपनि कम्पनीले ५.८ मिलियन मलेसियन रिङ्गिट घाटा व्यहोरेको छ । त्यस्तै श्रीलङ्कामा रहेको कम्पनी डाइलगले २३.८ प्रतिशत आम्दानी गुमाउँदै २०५ मिलियन मलेसियन रिङ्गिट घाटा व्यहोरेको उल्लेख छ ।

नेपाली दूरसञ्चार कम्पनी एनसेलको आम्दानी दोस्रो चौमासिकमा ४.२ प्रतिशतले बढेको छ । भने, नाफा ११.७ प्रतिशतले बढेको छ ।

एनसेलले यो अवधिमा ३६५.४ मिलियन मलेसियन रिङ्गिट आम्दानी गर्दा ६३.३ मिलियन मलेसियन रिङ्गिट नाफा गरेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३