काठमाडौं । ट्राफिक नियम उल्लङ्घन गरी फरार भएका सवारी चालकलाई प्रहरीले सीसी क्यामेरामा कैद भिडिओका आधारमा कारबाही गर्न थालेकाे छ ।
सडकमा ट्राफिक नियम उल्लङ्घन गर्नेलाई कारबाही गर्ने प्रक्रिया निरन्तर चल्दै आएको र यसलाई थप प्रभावकारी बनाउन सीसी क्यामेराबाट कडाइ गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।
“सवारी नियम उल्लङ्घन गर्ने चालकलाई ट्राफिक प्रहरीले विगतमा गरिरहेको सीसीटीभी फुटेजको आधारमा खोजी गर्ने र कारबाहीलाई थप तीव्रता दिएका छौँ,” उनले टेकपानासँग भने, “यसमा कुनै पनि ट्राफिक नियम जस्तै; लेन मिच्ने, गलत दिशाबाट यात्रा सवारी चलाउने, गलत ठाउँबाट यूटर्न लिई ट्राफिक नियम उल्लंघन गर्नेलाई कारबाही गरेका छौं ।”
सीसीटिभीमा कैद भएको भिडिओका आधारमा कुल ६३ सवारी चालकलाई कारबाही भएको छ, जसमा लेन मिच्ने ३१ जना, एकतर्फी सडकमा सो विपरीत सवारी साधन चलाएका २३ जना र सवारी मोड्न निषेध गरेको स्थानमा सवारी साधन मोडेका ८ जना चालकलाई कारबाही गरिएको उनले जानकारी दिए ।
यससँगै यात्रु लिन नमानेको कसूरमा एकजना चालकलाई कारबाही गरिएको छ ।
उनका अनुसार भदौ १ गतेदेखि १४ गतेसम्म काठमाडौं उपत्यकाको विभिन्न स्थानमा ट्राफिक नियम उल्लङ्घन गरेका ४२० जना चालकमध्ये ट्राफिक प्रहरीले खोजी गरी ल्याएका आएका ९७ जना चालकमध्ये ६३ जनालाई कारबाही गरिएको छ ।
अन्य चालकहरू हालसम्म ट्राफिक प्रहरीको सम्पर्कमा नआएकाले खोजी भइरहेको भट्टले जानकारी दिए ।